हेलो रामप्रसाद !

हेलो रामप्रसाद !


– डिल्लीराम अम्माई

झ्याम्म लाग्यो रामप्रसाद
तिम्रो अलंकार
तिम्रो बन्दुकझैँ पड्केको बिम्ब
चलाइरह्यौ तिम्रो सर्पिलो जिब्रो
र फुकाइरह्यौ माउसुलीको मुख

मकै भुटेर फुला उठेझैँ
कविताको फुला उठायौ
शब्द र अक्षरहरु सुकाएर बिस्कुनझैँ
साथीभाइ एउटै मझेरीमा जुटायौ
धन्य हौ राम प्रसाद तिमी !

निम्तो छ फेरि पनि आउ है
चटनी लिएर पिरो
अदुवाको अचार अनि
साँधेको निबुवा कचौराभरी

हेलो रामप्रसाद !
अब हुने उत्सव
महाकविको सम्झनामा
अलिकति शितलता
अलिकति हावा
र अलिकती मह
झोलामा राख्नु है रामप्रसाद
लौकाको बियाँ गनेर शब्दका
धेरै परेवाहरु घुर्नेछन् त्यहाँ
तिमी नझिजाउनु
तिनका पंखाहरु
पानीका थोपा बनेर
कव्तिा पोखेर भिजाउनु
बार्इ रामप्रसाद !

– बेल्जियम