‘ओभरलोड’का कारण तान्जानियामा डुङ्गा दुर्घटना, २२४ को मृत्यु

‘ओभरलोड’का कारण तान्जानियामा डुङ्गा दुर्घटना, २२४ को मृत्यु


तान्जानियाको लेक भिक्टोरियामा गत शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ ।

यातायातमन्त्री आइज्याक कामवेलेले डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको आइतबार जानकारी गराउँदै अब कोही जीवित पाइने आशा झिनो रहेको बताएका एएफपीले जनाएको छ ।

उद्धार कार्य लगभग अन्तिम चरणमा पुगेपछि आफन्तहरूलाई मृत शरीर हस्तान्तरण गरिएको छ । तान्जानिया सरकारले आइतबार एक दिन शोकको घोषणा गरेको छ । आइतबार पहिचान भएका १० मृतकलाई सामुद्रिक किनारामा सामूहिक रूपमा अन्तिम संस्कारपछि तान्जानियामा शोकको घोषणा भएको हो ।

डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको बताइएको छ । तान्जानियाको प्रशासनले डुङ्गा कम्पनीसँग आवद्ध केही जनालाई पक्राउ गर्न निर्देशन दिइसकेको छ ।