सामुद्रिक डाँकुद्वारा स्वीस जहाजबाट १२ अपहरित

सामुद्रिक डाँकुद्वारा स्वीस जहाजबाट १२ अपहरित


नाइजेरियाली सामुद्रिक क्षेत्र हुँदै आफ्नो गन्तब्यमा हिँडेको स्वीस पानीजहाजका १२ चालकदलका सदस्यलाई सामुद्रिक डाँकुले अपहरण गरेर लगेको उक्त जहाजको कम्पनीले जनाएको छ ।

मासोल सिपिङ्ग कम्पनीका अनुसार एमभि ग्लारूस नामक जहाजका १२ सदस्यलाई नाइजेरियाको व्यापारिक शहर लागोसबाट गहुँ लिएर दक्षिणी बन्दरगाह हाकोर्टतर्फ हिँडिरहेका समय अपहरण गरेको लगेका छन् । जहाजमा रहेका बाँकी ६ जना भने सकुशल रहेका छन् ।

“अपहरणकारीले चालक दलका १२ र जहाज रहेका बहुमुल्य सामानलगायत अधिकांश सञ्चार सेटसमेत लुटेर लगेका छन्,” मासोलका प्रवक्ता प्याट्रिक एडमसनले बताए । कम्पनीले सुरक्षाका लागि भन्दै अपहरणमा परेका कसैको नाम तथा उनीहरूको ठेगाना नखुलाएको जनाएको छ ।

उक्त क्षेत्रमा गतवर्ष पनि जहाज लुटिएको र करिब ६० जनालाई अपहरण गरिएको थियो । उक्त क्षेत्रमा हुने कतिपय आक्रमणलाई व्यवसाय धारासायी हुने खतराका कारण कम्पनीहरूले सार्वजनिक नगर्ने गरेका छन् । अपहरणमा परेका सबैजनाको सकुशल उद्धारका लागि कम्पनीले सम्वन्धित अधिकारीसँग पहल शुरु गरेको जनाएको छ ।