शान्तिरक्षकविरुद्धको खतरा बढ्दो क्रममा : संयुक्त राष्ट्रसंघीय महासचिव गुटेरेस

शान्तिरक्षकविरुद्धको खतरा बढ्दो क्रममा : संयुक्त राष्ट्रसंघीय महासचिव गुटेरेस


मनोज रिजाल, न्युयोर्क

संयुक्त राष्ट्रसंघका अन्तर्राष्ट्रिय शान्ति स्थापना मिसनहरूमा शान्तिरक्षक (पिसकिपर)हरू विरुद्ध हुने सुरक्षाजन्य खतराहरू भयानकरुपमा बढ्दो क्रममा छ, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन् ।

‘ठुला र जटिल आदेशहरू परिपालना गरिरहनु पर्ने सिलसिलामा शान्तिरक्षकहरूले बढ्दो खतराहरूको सामना समेत गर्नु परिरहेको छ,’ संयुक्त राष्ट्रसंघीय महासचिव गुटेरेसले राष्ट्रसंघको ७३औं महासभाको अवसरमा २० सेप्टेम्बर, २०१८ मा राष्ट्रसंघ परिसरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा भनेका छन् ।

‘शान्तिसुरक्षा कायम गर्ने सिलसिलामा भएका मृत्युवरणका घटनाहरू अहिले सम्मकै उच्च विन्दुमा छ,’ गुटेरेसले भने, ‘साथै शान्तिसुरक्षा कायम गर्न प्रयोग गरिने उपकरणहरू पनि अपर्याप्त छन् र आवश्यक राजनितिक प्रक्रियाहरू या त कमजोर छन् या त छँदै छैनन् ।’

हाम्रो उद्देश्य भनेको विगतका सफलताहरूमा टेकेर आजका अनावश्यक रुपमा तन्किएका र नाजुक अवस्थाहरूमा हाम्रा मिसनहरूलाई सफल बनाउनु हो, उनले भने, ‘अहिले धेरै कुराहरू गर्न बाँकी छ र धेरै कुराहरू माथि प्रश्नचिन्ह उठेका छन् । सबै साझेदारहरूले आ–आफ्नो भुमिका सशक्त रुपमा खेले भने मात्र सफलता प्राप्त हुनेछ ।’

यसै सन्दर्भमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र क्षेत्रीय संगठनहरूको भेला मंगलबार, सेप्टेम्बर २५, २०१८ मा राखिएको छ, ता कि एक्सन फर पिसकिपिङ इनिसिएटिभ कै एक भागको रुपमा राष्ट्रसंघीय शान्ति अभियानहरूलाई सुदृढ गर्न सकियोस्, गुटेरेसले भने ।

‘साझा प्रतिवद्धताको घोषणाले स्पष्ट र शान्ति कायम गर्न अति आवश्यक एजेण्डाहरूको प्रतिनिधित्व गर्छ र सबै सरोकारवालाहरूले यस प्रतिका आफ्ना अत्यन्त वस्तुगत प्रतिवद्धताहरू समेत व्यक्त गरेका छन् । यसलाई १२८ सदस्य राष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूले पनि अनुमोदन गरेका छन् ।’

गुटेरेसको भनाइमा शान्ति कायम गर्ने काम सबैको साझा जिम्मेवारी हो ‘र हामी सबैले एक साथमा यसलाई सही तरिकाले गर्नु राम्रो हुनेछ ।’

कोरियाली शान्ति वार्ताको सन्दर्भमा गुटेरेसले भनेका छन् कि हालै भएको उत्तर र दक्षिण कोरियाबीचको सहमति कोरियाली प्रापद्विपमा शान्ति स्थापना गराउन सकारात्मक छ ।

‘मेरो विचारमा यी परिणामहरू सकारात्मक थिए तर म यो तथ्यमा पनि स्पष्ट थिएँ कि, अमेरिका र उत्तर कोरिया बीचको समानान्तर वार्ता सफल नभइ उत्तर र दक्षिण बीचको मात्र वार्ताको महत्व रहने अवस्था छैन । क्षेत्रीय सुरक्षाको सन्दर्भमा एक पुर्ण र प्रमाणित गर्न सकिने निरस्त्रीकरणको अवस्थालाई सुनिश्चित गर्न सक्नु आवश्यक छ ।’

सिंगापुरमा जुन २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन बीच भएको शिखर वार्ताको प्रसंग उल्लेख गर्दै आफुलाई यस घटनाले खुशी तुल्याएको गुटेरेसले बताएका छन्, साथै दुइ नेताहरूको हिम्मत र प्रतिवद्धतालाई समेत प्रशंसा गरेका छन् ।

‘अमेरिकी विदेश मन्त्री माइक पम्पियो आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्ता पुन शुरु गर्न तयार छन् भन्ने तथ्य मैले बुझेको छु । र म आशावादी छु ।’

संयुक्त राष्ट्रसंघको ७३औं महासभा सेप्टेम्बर १८ बाट शुरु भएको छ र यही मंगलबार, सेप्टेम्बर २५, २०१८ मा यो महासभा सदस्य राष्ट्रहरूको सहभागितामा एक आम वहस (जेनेरल डिबेट) को चरणमा प्रवेश गर्नेछ ।

प्रति–आतंककारी उपायहरूलाई लागु गर्ने र सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरू प्राप्त गर्ने अहिलेको महासभाका प्रमुख एजेण्डा हुन् भने युवा सशक्तिकरण र लैंगिक समानता कायम गर्नु अन्य प्रमुख एजेण्डाहरू हुन् ।