बूढीगण्डकी आयोजनाले २५ लाखसम्म मुअब्जा दिनुपर्ने आरुघाट वासिन्दाको माग

बूढीगण्डकी आयोजनाले २५ लाखसम्म मुअब्जा दिनुपर्ने आरुघाट वासिन्दाको माग


राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलासययुक्त आयोजनाको डुबान क्षेत्रका प्रभावितले आरुघाट बजारको मुअब्जा निर्धारण गर्दा प्रतिआना २५ लाख सम्म दिइनुपर्ने माग गरेका छन् ।

प्रभावितहरूको तर्फबाट धादिङ र गोरखाका संयुक्त सरोकार समितिले बूढीगण्डकी आयोजनाको वातावरण मुअब्जा वितरण पुर्नवास तथा पुनःस्थापना इकाइका संयोजक कृष्ण कार्कीलाई आज ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । सरोकार समितिका गोरखा संयोजक जगन्नाथ खनाल र धादिङका संयोजक दिनेशकुमार ढकालसहितको टोलीले संयोजक कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा आरुघाट बजारको शाखा सडकमा प्रतिआना रु २० लाख, अन्य शाखा सडकमा प्रतिआना रु १५ लाख मुअब्जा निर्धारण हुनुपर्ने माग गरिएको हो । त्यस्तै घडेरी उन्मुख आवादी जग्गाको मुअब्जा प्रतिआना रु १० लाख निर्धारण हुनुपर्ने उनीहरूले माग गरेका छन् ।

चापनी, स्वर्खा, ओढारे, स्तुलखोला, र बूढीगण्डकी किनारको सम्पूर्ण आवादी जग्गाको मुअब्जा प्रतिरोपनी रु २० लाख निर्धारण हुनुपर्ने, मध्यपहाडी लोकमार्गको स्वामी चौतारादेखि बूढीगण्डकी पक्की पुल र बूढीगण्डकीको पक्की पुलदेखि विशाल नगरसम्मको क्षेत्रको प्रतिरोपनी रु २५ लाख मुअब्जा निर्धारण डुबान प्रभावितको माग छ ।

ज्ञापनपत्रमा डुबानका कारण पुख्र्यौली भूमि छोड्नु पर्दाको मनोवैज्ञानिक पीडामा रहेका डुबान प्रभावितलाई छिटो न्यायोचित मुअब्जा निर्धारण गरी वितरण गर्नुपर्ने माग गरिएको हो । आरुघाट बजार गोरखा र धादिङको व्यापारिक केन्द्रको रूपमा रहेको, गोरखा–आरुघाट, धादिङ–आरुघाट र काठमाडाँैसँग सिधा सडक जोगिएको तथा सबै गाउँपालिकाको आरुघाट केन्द्र भएकाले मुअब्जा निर्धारण गर्दा यस्ता विषयलाई आधारमा बनाइनुपर्ने उनीहरूको माग छ ।

ज्ञापन पत्र बुझ्दै संयोजक कार्कीले डुबान प्रभावित आरुघाट बजारको स्थलगत अध्ययन गरी उचित मुअब्जा निर्धारण गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका राससले जनाएको छ । बूढी आयोजनाको मुअब्जा निर्धारण हुन बाँकी रहेका स्थान आरुघाट, खहरे लगायतका क्षेत्रको मुअब्जा निर्धारण गर्न अध्ययन भइरहेको भन्दै छिट्टै मुअब्जा तोकिने उनले जानकारी दिए ।