‘ड्रपआउट’ रोक्न कम्प्युटर र शैक्षिक सामग्री

‘ड्रपआउट’ रोक्न कम्प्युटर र शैक्षिक सामग्री


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

पढाइप्रति लगाव राख्ने मात्रै नभई नियमित विद्यालय आउने गरेकी उनी वर्षदिनअघि भदौदेखि अनुपस्थित हुन थालिन् । एकाएक पढाइ छाडेर बाह्रबिसेको एक होटेलमा काम गर्न थालिन् । भदौदेखि गएको चैतसम्म उनले होटेलमा काम गरिन् । अनि बिदामा घर फर्किन् । मार्मिङस्थित भीमसेन माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत लगनशील विद्यार्थी सुस्मिता विक आएको जानकारी पाएपछि शिक्षकहरू उनको घर पुगे र यथार्थ बुझे– विद्यालय पोसाक, शैक्षिक सामग्रीहरू किन्न नसक्ने भएपछि उनी होटेलमा काम गर्न बाध्य बनेकी हुन् ।

सुस्मितामा विद्यालय जाने चाहना अधिक थियो । पढ्ने चाहनामा आर्थिक अभाव बाधक बनेपछि विद्यालयले उनलाई फेरि कक्षाकोठामा फर्काउनका लागि पोसाक र स्टेसनरी निःशुल्क दिएपछि विद्यालय जाने बाटो खुल्यो । अहिले उनी सात कक्षामा अध्ययनरत छिन् ।

समस्या सुस्मितामा मात्रै होइन मार्मिङस्थित त्याङ्थली गाउँका अधिकांश विद्यार्थीमा छ । निम्न आयस्रोत भएका परिवार भएकाले विद्यालयमा बालबालिका पढाउन अभिभावकलाई हम्मे पर्छ । केही विद्यार्थीका आमाबाबु छोराछोरीलाई शैक्षिक सामग्री, पोसाक, झोला किनेर विद्यालय पठाउन नसक्ने पनि छन् ।

सुस्मिताका अभिभावकजस्तै यो गाउँका अधिकांश कृषि पेसामा निर्भर छन् । मार्मिङ खेतीयोग्य जमिनको अभाव भएको गाउँ हो । कृषि पेसा गरेर जीविकोपार्जन गर्नेहरूलाई आर्थिक समस्याको पिरलो हुने गर्छ । ‘घरको उब्जनीले पुग्दैन, त्यसैले विद्यालय आउन निकै समस्या भएको हो,’ सुस्मिताले भनिन् । उनीमा जस्तै कक्षा ३ मा अध्ययनरत रोशन तामाङमा पनि समस्या छ । आर्थिक अभावकै कारण विद्यालय पठाउन अभिभावकलाई गाह्रो हुने गरेको हो । ‘भनेको समयमा कापी, किताब किन्न पाइँदैन,’ रोशन भन्छन्, ‘विद्यालय आउन मन छ, तर ड्रेस, झोला बेलाबेलामा किन्न सकिँदैन ।’

भीमसेन माविका विद्यार्थी शिक्षाको मूलधारमा आउन आर्थिक अभाव बाधक बनेका यी प्रतिनिधि हुन् । मार्मिङका बालबालिका स्टेसनरी अभावकै कारण विद्यालय जानबाट वञ्चित हुने अवस्था देखेपछि सबै विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री वितरण गरिएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले विद्यालयमै पुगेर सबै विद्यार्थीका लागि सामग्री उपलब्ध गराएपछि सुस्मिता र रोशनजस्तै अन्यको मुहार उज्यालिएको छ । अभिभावकलाई सहज भएको छ । ‘यो सहयोगले हामीलाई निकै सजिलो भएको छ,’ सुस्मिता भन्छिन्, ‘निम्न आय भएकै कारण स्टेसनरी किन्न नसक्नेका लागि यो सहयोग बरदान भएको छ ।’ उनले यस्ता सामग्री पाएपछि विद्यालय छाड्न नपर्ने बताइन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले साबिक मार्मिङ गाविसमा रहेका सबै सातवटै विद्यालयका विद्यार्थीका लागि स्टेसनरी वितरण गरेको हो । सङ्घले भीमसेन माविलाई थप दुईवटा कम्प्युटर प्रदानसमेत ग¥यो । सङ्घले भीमसेन माविका एक सय ७५, मार्मिङ माविका दुई सय २५, धनेश्वर आधारभूतका एक सय ४०, गोल्ची आधारभूतका २०, महादेव आधारभूतका ८५, कालीदेवी आधारभूतका ६० र देउढुङ्गा आधारभूतका १० गरी सात सय १५ विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेको हो ।

कम्प्युटरसहित बालबालिकाका लागि सामग्री सहयोगले पठनपाठनमा सहज हुने विद्यालयले जनाएको छ । ‘अब कम्प्युटर कक्षामा पनि निकै सहज हुनेछ,’ भीमसेन माविका प्रधानाध्यापक ध्रुव कार्की भन्छन्, ‘कम्प्युटरको अभाव झेलिरहेका थियौँ ।’ यो विद्यालयमा तीन वर्षदेखि पाठ्यपुस्तकमा आधारित कम्प्युटर कक्षा सञ्चालन भइरहेको छ । कक्षा ५ देखि माथिका कक्षामा पढाइ हुने प्रधानाध्यापक कार्कीले बताए । ‘विद्यालयमा भएका कम्प्युटरमा भूकम्पका बेला क्षति पुग्यो,’ उनी भन्छन्, ‘प्रयोगात्मक शिक्षाका लागि कम्प्युटर आवश्यक थियो ।’ विद्यालयमा भएका सातवटा कम्प्युटरमा विद्यार्थी बहुशिक्षण गर्नुपर्ने बाध्यतलाई केही राहत पुगेको विद्यालयको भनाइ छ ।

मार्मिङका केही विद्यार्थीमा शैक्षिक सामग्री खरिद गर्न नसक्ने समस्या भएकाले यी सामग्री सहयोग गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घले विद्यालयका शिक्षकका लागि नोटबुक, इन्कपेनसमेत प्रदान गरेको हो । सङ्घका अध्यक्ष बेदबहादुर श्रेष्ठले सम्बन्धित विद्यालयका शिक्षकलाई सामग्री हस्तान्तरण गरेका हुन् । ‘दुई हजार दुई सय कापी, १ हजार चार सय ५० कलम, सात सय ७५ झोला, ४० नोटबुक र ६० इन्कपेन र दुई थान कम्प्युटर सहयोग गरेका छौँ,’ सङ्घका अध्यक्ष श्रेष्ठले भने, ‘शिक्षाको गुणस्तर बढाउनुका साथै ड्रपआउन रोक्न हामीले सामग्री प्रदान गरेका हौँ ।’ उनले शैक्षिक सामग्री अभावकै कारण विद्यार्थीले विद्यालय छाडेको जानकारी पाएपछि त्यसको रोकथामका लागि सहयोग गरेको बताए ।

‘अरू विद्यालय जान्थे, म होटेलमा काम गर्थें’

सुस्मिता विक

‘बुबाआमा खेती–किसानी गर्नुहुन्छ । दुई दाइ र तीन भाइ भएको बुबाआमाको सन्तानमा म एक्ली छोरी हुँ । खेती–किसानीबाट हुने उत्पादनले खर्च पुग्दैनथ्यो । ममीले पनि पढ्न नजानू भन्नुभयो । म के गर्ने भन्ने अन्योलमा परेँ । कापी, कलम नभएपछि के स्कुल जानू भन्ने भएपछि म बाह्रबिसेमा काम गर्न गएँ ।

बाह्रबिसेको एक होटेलमा काम गर्थें । मासिक तीन हजार पाउँथेँ । मलाई विद्यालय जाने रहर भने औधी थियो । पैसा नभएकै कारण विद्यालय जान नपाएकाले खुप पीडा हुन्थ्यो । म होटेलमा काम गरिरहँदा अरू विद्यालय गएको देख्थेँ । साहै्र रहर लागेर आउँथ्यो । मलाई कस्तो–कस्तो हुन्थ्यो । रुन पनि सक्दिनथेँ ।

मलाई सेवा गर्न मन पर्छ । धेरै पढेर प्रहरी बन्ने मेरो एउटा सपना हो । बाह्रबिसेमा भदौदेखि चैतसम्म काम गरेँ । अनि बिदामा घर आएँ । सरहरूले त्यतिबेला सहयोग गर्छाैं पढ्न आऊ भन्नुभयो । के गर्ने के नगर्ने भयो मलाई । दाइलाई सोधेकी थिएँ । आफ्नै खुसी गर भन्नुभयो । म घर आएको बेला ६ कक्षाको अन्तिम परीक्षा सकिसकेको थियो । सरहरूले सहयोग गर्छु भनेपछि मलाई स्कुल जान मन लाग्यो । मैले जान्छु भनेँ ।

स्कुलले मलाई ड्रेस निःशुल्क उपलब्ध गरायो । म राम्रै पढ्ने विद्यार्थीमा पर्छु । त्यसैले सरहरूको सहयोगकै कारण म पुरानै साथीहरूसँगै सात कक्षामा पढ्न पाउने भएँ । र पढेँ पनि । अहिले ममी पनि खुसी हुनुहुन्छ । आर्थिक अवस्था बाधक भएन भने मलाई विद्यालय आउन समस्या हुँदैन । सहयोग पाएमा धेरै पढ्नेछु ।’