कसरी गाभियो बारा, पर्सा, सर्लाही, रौतहट र महोत्तरी

कसरी गाभियो बारा, पर्सा, सर्लाही, रौतहट र महोत्तरी


मखनियाबाट कासिमअलि खानसँग बिदाबारी भई दुई हजारजति सैनिक र एक हजारजति पिपा–खलासी लिएर गुरगिन खान मकवानपुतिर आए र उनले तलहट्टीको मैदान छोडेपछि १८ किलोमिटर जलहीन भएको सालको घना जङ्गल पार गरी शक्तिखोरमा आएर चुरेको भञ्ज्याङ पार गरे । सालको जङ्गलको बाटामा पानी नपाइने भए पनि गाडा चल्ने हुनाले पानीको कष्टको निवारण हुन सक्तथ्यो । चुरे पार भएपछि गाडा नचल्ने हुनाले गाडाका गोरुबाट भारीतारी ओसार्नुपर्दथ्यो ।

मकवानपुरका फेदीपट्टि परेको हर्नामाढीमा हिउँदको समय हुनाले मकवानपुरका डाँडाका मानिस र वस्तुभाउसमेत हर्नामाढीका घरमा सरेका थिए र यी घरहरूमा प्रशस्त अन्न र बारीमा सागपात थिए । ७ जनवरी, १७६३ का दिन यो मुगल सैनिक दल मकवानपुरमा आइपुग्दा माढीमा रहेका गृहस्थहरूले डाँडाका घरद्वारको शरण लिन पुगी माढीका घरद्वार, अन्न, पशुसमेत मुगल सैनिकलाई छोडिदिँदा यिनीहरूले बासगाँस त भेट्टाए, तर धन लुट्ने जो आशा लिएर आएका थिए त्यो भेट्टाएनन् । गुरगिन खानले सधाएका हिन्दुस्थानी सैनिकले अङ्ग्रेजी ढाँचाका बर्दी र जुत्ता पहिरेका थिए । बन्दुक पनि उम्दा थिए । यिनीहरूले पत्थरकला चलाउने काम सिकेको पाँच–छ महिना मात्र भएको थियो । दुई–तीन वर्ष अभ्यास नगरी शिक्षित सैनिक बन्न सकिन्नथ्यो ।

यसकारण यिनीहरूले मकवानपुरगढीमा झटपट घेरा दिने साहस गर्न सकेनन् । यिनीहरूले गढीको वरिपरि आड लिनलाई बनेका तीन ठानामध्ये डढुवाठाना मात्र लिन सके (१२ जनवरी) र त्यहाँ रहेका थोरै गोर्खाली सैनिक हटेर अरू दुई ठानाको गढीमा आवतजावत बचिरह्यो । दोस्रो दिन यो समाचार दहचोकमा पुग्यो र श्री ५ पृथ्वीनारायण शाहले काजी वंशराज पाँडे र बख्शी नाहरसिंह बस्न्यातको नेतृत्वमा आवश्यक गोर्खाली सैनिक दल पठाए । यो सैनिक दल पुग्नेबित्तिकै नजिकै रहेको डढुवाठानाका शत्रु हटेर हर्नामाढीतिर झर्दा २० जनवरीका दिन गढीमा र अरू ठानामा रहेका सैनिकसमेत माढीतिर झरेर शत्रुसैनिकमाथि जाइलागे ।

यी मुगल सैनिकहरू बन्दुक चलाउने अभ्यास राम्रो नगरेका हुनाले र लडाइँमा अघि सर्नुभन्दा भाग्नु बेस सम्झेर कुलेलम ठोक्न लागे । गुरिल्ला लडाइँको शिक्षा पाएका गोर्खाली सैनिकले भाग्न लागेका सैनिकलाई एकएक गरी मारेर सत्र सयजनालाई सोत्तर गराए । यिनमा सैनिकका साथै पिपा–खलासी पनि परे । डेराडण्डाको सामानबाहेक दुई साना तोप र पाँच सयजति पत्थरकला बन्दुकसमेत छोडेर जुन बाटो आएका थिए उसै बाटोबाट भागाभाग गर्दै कासिमअलि खानलाई हरुवा मुख देखाउन गुरगिन खान पुगे । यस लडाइँमा गोर्खालीतर्फ पुगनपुग एक सय सैनिक हताहत भए ।

मकवानपुरबाट मुगलको सैनिक दल भागेर गएको खबर पाएपछि श्री ५ पृथ्वीनारायण शाह मकवानपुरमा गई लडाइँमा भागेका मुगलका बाँकी रहेका तोप र बन्दुक देखेर दङ्ग परे । हरिहरपुरगढी गोर्खालीका दखलमा हुँदै थियो र श्री ५ पृथ्वीनारायण शाह त्यहाँ पुगे । खुँडाघाटमा रहेका राजा दिग्बन्धन सेन चेपुवामा परे । लडाइँका समयमा मकवानपुरमा नआएका हुनाले गुरगिन खान यिनीदेखि जलेका थिए । उनले भेट्टाएमा सम्भवतः यिनलाई मारिदिन्थे । यहाँ हरिहरपुरमा श्री ५ पृथ्वीनारायण शाह पुग्दा पनि उनी डराएका थिए ।

जहानपरिवार र जो भएका हात्ती खुँडाघाटमै थिए । श्री ५ पृथ्वीनारायण शाहले डाँक हान्न गोर्खाली सैनिक दल पठाउँदा राजा दिग्बन्धन सेन, उनका छोरा, आमा र बहिनी उम्के, यिनकी रानी, छोरी र सात हात्ती पक्रिए (१३ फेब्रुअरी) । पछि दिग्बन्धन सेनले पनि आत्मसमर्पण गर्ने समाचार पठाउँदा श्री ५ पृथ्वीनारायण शाहले ल्याउनालाई डोली पठाइदिए र उनी आएपछि उनलाई र उनका रानी–छोरालाई समेत जीवनभर गोर्खामा नजरबन्द राखे । यिनी बडा कातर थिए । पक्रिएपछि आफ्नी बहिनीका विवाहकालमा कलहका वीज भएका हात्ती र गजमोतीको हारसमेत श्री ५ पृथ्वीनारायण शाहलाई यिनले समर्पण गरे ।

यो समाचार सुनेपछि काठमाडौं उपत्यकाका मल्ल राजाहरू र चौबीसी राजाहरूले समेत आफ्नाआफ्ना शिरको पगरी छाम्न लागे । यसैबीचमा कान्तिपुरका राजा जयप्रकाश मल्लका एक मात्र छोरा ज्योतिर्मल्लको बिफरको व्यथाले देहान्त हुनु (२७ अप्रिल) यस ठकुराईका निमित्त सोचनीय घटना हुन आयो ।

यस तरहसँग ६ महिनाको लडाइँमा मकवानपुरको ठकुराइ खलास भयो र यो ठकुराइ गोर्खाराज्यमा मिल्दा मकवानपुरको भावर मात्र होइन बडियादेखि कमलासम्मका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीसमेत धनहर जमिन भएका पाँच जिल्ला गोर्खा राज्यका अङ्ग बने ।

(श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनीबाट)