उपत्यकामा शनिबार १७ लाख लिटर पेट्रोल‍ र डिजेल बाँडिँदै

उपत्यकामा शनिबार १७ लाख लिटर पेट्रोल‍ र डिजेल बाँडिँदै


नेपाल आयल निगमले शनिबार काठमाडौं उपत्यकामा झण्डै १७ लाख बढी लिटर पेट्रोल तथा डिजेल वितरण गर्दैछ । निगमले थानकोट डिपोबाट आजका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको जनाएको छ ।

यातायात व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थ आयातमा असहजता उत्पन्न भएसँगै काठमाडौं उपत्यकामा पेट्रोल तथा डिजेलको अभाव भएको थियो । बिहीबार र शुक्रबार उपत्यकाका अधिकांश पेट्रोल पम्पहरु बन्द थिए भने खुलेकामा पनि उपभोक्ताहश्रको लाइन लागेको थियो । बजारमा अभाव नहोस् भन्दै शनिबार पेट्रोल र डिजेलको उल्लिखित परिमाण वितरण गरेको निगमले जनाएको छ । थानकोट डिपोले शुक्रबार मात्र ५ लाख ८ हजार लिटर पेट्रोल र ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको थियो ।

उक्त परिमाणको इन्धन काठमाडौं उपत्यकामा वितरण गरिएपछि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता अन्त्य हुने विश्वास निगमको छ । चार दिनदेखि चालकले हड्ताल गरेका कारण उपत्यकामा तेल अभाव भएपछि निगमले बिदाको दिनमा समेत वितरण गरेको हो ।