औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै

औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै


इलाममा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् ।

जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडीबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडीबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिराइतो किसान दिनेश सुवेदी बताउँछन् । कुनै बेला पाँच मन (एक मनको ४० केजी) सम्म चिराइतो उत्पादन गर्नुभएका सुवेदी अहिले किबी खेतीमा लागेको छु भन्छन् ।

‘मैले तीन वर्ष अघि मात्र रु २९ हजार प्रति मनमा चिराइतो बेचेको थिएँ तर त्यसकोे मूल्य घटेर अहिले प्रतिमन चारदेखि पाँच हजार मात्र मूल्य छ ।’ उच्च पहाडी संस्था नेपालका प्राविधिक युवराज पौडेल (पिसी)का अनुसार किसानले पछिल्लो समय जडीबुटी खेती घटाएर लौठ सल्लालगायत वनस्पतिको खेती गर्न थालेका छन् ।

जिल्लाका माइपोखरी, पुवामझुवा, सुलुबुङ, बरबोटे, साँखेजुङमा बढी जडीबुटी उत्पादन हुने गरे पनि तिनको मूल्यमा गिरावट आएपछि किसानले जडीबुटी खेती नै छाड्दै गएको जिल्ला वन कार्यालयले जनाएको छ । उक्त कार्यालयको तथ्याङ्कअनुसार इलामबाट चिराइतो यस आवमा १५ हजार ४१६ केजी बिक्री भएको थियो ।

आव २०७३÷०७४ मा बिखमा ३०० केजी, अर्गेली १५ हजार ४०० केजी, लोक्ता एक हजार केजी, सतुवा १५ केजी, रुद्राक्ष १२३ केजी विक्री भएको थियो ।

यस्तै आव २०७४÷७५ मा सतुवा २५ केजी, अर्गेली २५ हजार २०० केजी, इन्द्रेणी बियाँ २४५ केजी, बिखमा २०० केजी, मजिटो एक हजार २०० केजी पाखनवेद २८० केजी र लौठ सल्ला दुई हजार ५०० केजी मात्र बिक्रीका लागि अनुमति लिन आएको उक्त कार्यालयले जनाएको छ ।