अमेरिकामा नेपाली चेलीसहित तीनको हत्या

अमेरिकामा नेपाली चेलीसहित तीनको हत्या


अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । त्यहाँस्थित एक कम्पनीमा पार्टटाइम काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कम्पनीमा गत विहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्ध गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीसहित अन्य दुईको निधन भएको शुक्रबार स्थानीय अधिकारीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिएका छन् । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए ।

बताइएअनुसार सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । वृन्दाको पारिवारिक स्रोतलाई उद्धृत गर्दै राससले जनाएअनुसार आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महीना अगाडि मात्र त्यहाँ काम गर्न थालेकी थिइन् ।

अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिँदै अमेरिकाको मूलधारको राजनीतिमा लागेका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिएका छन् । पर्वतमा जन्मिएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन् ।