ज्ञान, सीप र पूँजी लिएर स्वदेश फर्कन नेता पौडेलको आग्रह

ज्ञान, सीप र पूँजी लिएर स्वदेश फर्कन नेता पौडेलको आग्रह


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरू लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले हालै लिस्बनमा आयोजना गरेको ‘नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता पौडेलले काङ्ग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा पर्ने विचार व्यक्त गरे ।

‘मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक सङ्घर्ष गरेँ, राजनीतिक सङ्घर्ष सत्ता प्राप्तिका लागि नभएर नेपाली जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि हो’, नेता पौडेलले भने ।

सो अवसरमा उनले मुलुकको परिवर्तनमा बिपीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै निमुखालाई न्याय र विपन्नलाई आय नै बिपीको असली समाजवाद भएको विचार व्यक्त गरे । देशमा संविधान र सङ्घीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै नेता पौडेलले एकल जातीय आधारमा सङ्घीय राज्य बन्न नसक्ने धारणा राखे ।

यस्तै, पार्टी नेतृत्वबाट भएका त्रुटि सुधार गरेर पार्टीभित्र देखिएका गुटउपगुट, विकृति र विसङ्गतिको अन्त्य गरी पार्टीलाई सुधार गर्नुपर्ने खाँचो पनि नेता पौडेलले औंल्याए ।

एक पटकको नेपाली सधैँको नेपाली भएको भन्दै नेता पौडेलले नेपालमा लगानीको अवसर र वातावरण बनेकाले विदेशमा सिकेको ज्ञान, सीप, कला र पूँजी लिएर स्वदेश फर्कन प्रवासी नेपालीलाई आग्रह गरे ।

तस्बिर रासस