वीरेन्द्रनगरमा फिस्टुला अस्पताल सञ्चालन

वीरेन्द्रनगरमा फिस्टुला अस्पताल सञ्चालन


सुर्खेतको वीरेन्द्रनगरमा १७ श्ययाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र पौने ६ करोडको लागतमा निर्माण भएको फिस्टुला केन्द्र असोज ५ देखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले शुक्रबार सो अस्पतालको उद्घाटन ग।रेका हुन् । अहिलेसम्म फिस्टुला अस्पताल धरान र काठमाडौंमा मात्रै थियो ।

फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आइएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नं ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलालाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इञ्चार्ज कृपा चौधरीले जानकारी दिइन् । चौधरीका अनुसार सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको शल्यक्रिया गर्ने गरिएको थियो । यो अवधिमा २५० जनाले शिविरमार्फत लाभ लिएका थिए ।

क्षेत्रीय अस्पतालका सुर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका बिरामी उपचारका लागि धरान र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । बिरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क नभएको उनको भनाई छ ।

तस्बिर रासस