बेनेलक्सस्थित दुतावासमा उत्सवमय संविधान दिवस

बेनेलक्सस्थित दुतावासमा उत्सवमय संविधान दिवस


– डिल्लीराम अम्माई/बेल्जियम

बेल्जियमलगायत युरोप भरिका नेपाली दुतावासहरुले उत्सवको रुपमा संविधान दिवस मनाएका खबरहरु प्राप्त भएका छन् । त्यसै सन्दर्भमा बेनेलक्सलाई आफ्नो कार्य क्षेत्र बनाएर ब्रुस्सेलमा कार्यालय रहेको नेपाली राजदुतावासले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आथित्यतामा संविधान दिवस मनाएको छ ।

सयौँको संख्यामा रहेका युरोप भरिका महत्वपुर्ण कुटनीतिज्ञ, विभिन्न देशका राजदुत, प्रयटन दूत, नेपाललाई माया गर्ने नेपाल मैत्री युरोपियन र विभिन्न संघसंस्थाका नेपाली प्रतिनिधिहरु उपस्थित एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको संविधान दिवसमा विभिन्न बक्ताहरुले मन्तब्य समेत दिएका थिए।

सोही समारोहमा बोल्दै युरोपियन एक्स्टर्नल एक्सन सर्भिस EEAS का उपमहासचिव क्रिष्टियन लेफरले युरोपियन युनियन नेपाल संबिधानको ब्यबहारिक प्रयोगमा सदैव सफल रहोस भन्ने शुभकामना दिँदै नेपालको संविधानले समानुपातिक, समावेशी प्रतिनिधित्वको ग्यारेन्टीमा उचित सम्बोधन गरेको छ भन्दै प्रजातन्त्रको प्रयोगात्मक अभ्यासमा समेत युरोपियन युनियनले आवस्यक सहयोग पुर्याई रहने बताएका छन् । त्यस्तै उनले नेपालको सर्वाङ्गिण विकासमा विगतदेखि नै युरोपियन युनियनले सघाइरहेको बताउँदै आगामी दिनमा पनि सघाइरहने बताए।

बेल्जियम संसदको प्रतिनिधि सभाकी सांसद रिता बेलेनले बेल्जियम र नेपाल धेरै अगाडी देखि असल मित्रको रुपमा रहेको भन्दै अहिले आएर यो सम्बन्ध कुटनितिक रुपमा मात्र सिमित नभई जनस्तरसम्म मजबुत हुँदै गएको बताइन्। बेल्जियममा रहेका नेपालीहरु अब यहाँको विकासमा सहभागी भइसकेकोले नेपालको आर्थिक विकासमा समेत बेल्जियम हरतरहले सहभागी बन्ने विश्वास दिलाइन् ।

औपचारिक कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको संबिधान कार्यान्वयन भैसकेको बताउदै जनताको ठुलो त्याग र बलिदानी संघर्षबाट निर्मित संविधान सभाबाट बनेको नेपालको नयाँ संविधान संसारकै सबैभन्दा समावेशी, सबैभन्दा जनमुखी, सबैभन्दा प्रजातान्त्रिक र सबै भन्दा उत्कृष्ट रहेको बताए। यो संविधान हरहालतले सफल हुने भन्दै मुलुकका जनताको अधिकारलाई पूर्ण ग्यारेन्टी गरेको यो संबिधानले नेपालको सान्ति प्रक्रियालाई उचित ब्यवस्थापन गरेको छ र मुलुकलाई संघीय प्रणालीमा लगेर केन्द्रिकृत राज्यसत्ताको स्वरुपलाई विकेन्द्रित गरेको बताए।

मन्त्री ज्ञवालीले संबिधान दिबसमा देश बिदेशमा रहनु हुने सबै नेपालीहरुलाई बधाई दिँदै विकासको महायज्ञमा सबै नेपालीहरु एकजुट हुनुको विकल्प नरहेको जनाए ।

उद्घोषक ऋचा अधिकारीद्वारा संचालित कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट बेनेलक्सका नेपाली राजदुत लोक बहादुर थापाले मन्तब्य मार्फत उपस्थित पाहुनाहरुलाई स्वागत गरेका थिए। उनले सम्पूर्ण कुटनैतिक नियोगका विशिष्ट पाहुनाहरुलाई नेपालको संबिधान, प्रय़टकिय सम्भावना र चासोका साथै बर्तमान नेपालमा लगानी सम्भावनाबारे समेत औपचारिक र अनौपचारिक रुपमा स्पष्ट पार्ने कोशिस गरेको देखिन्थ्यो।

उत्सवीय माहोलका बीच नेपाली स्वादका परिकारहरुबाट समेत विभिन्न देशका बिशिष्ट पाहुना सहित उपस्थित सबैलाई तृप्त पार्ने कोशिस गरिएको थियो।

(तस्बिर साभार राजेन्द्र रसाइली)