तान्जानियामा डुंगा दुर्घटना : सयको मृत्यु, दर्जनौँ बेपत्ता

तान्जानियामा डुंगा दुर्घटना : सयको मृत्यु, दर्जनौँ बेपत्ता


तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुंगा दुर्घटनामा कम्तीमा एक सयजनाको मृत्यु हुनको साथै अन्य दर्जनौँ बेपत्ता भएका छन् ।

तान्जानियाका उद्धारकर्ताले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरूको खोजी कार्य शुरु गरिएको र उनीहरूको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।

यहाँको उकारा द्वीपनजिकै बिहीबार अपराह्न करिब एक सय यात्रु सवार रहेको सो डुंगा दुर्घटना भएको थियो । दर्जनौँको संख्यामा बेपत्ता रहेका व्यक्तिले ज्यान गुमाउने डर भएको उकेरेवे जिल्ला परिषद्का प्रमुख जर्ज न्यामाहाले चिन्ता व्यक्त गरेका छन् ।

क्षेत्रीय गभर्नर जोन मोङगेल्लाले यस दुर्घटनमा परी करिब एक सय जनाको मृत्यु भएकोे र अन्य ३७ जनालाई उद्धार गरिएको बिहीबार बताए । यद्यपि उद्धार गरिएकाहरूमा पनि केहीको अवस्था चिन्ताजनक भएको जोनले बताए ।

तान्जानियाको सरकारी निकायका अनुसार यस डुंगामा कति व्यक्ति सवार रहेका थिए भन्ने प्रस्ट भएको छैन । डुंगा दुर्घटनाको कारण हाल प्रस्ट नभएको, तर यसप्रकारको दुर्घटनामा बारम्बार क्षमताभन्दा बढी नै व्यक्ति रहने गरेका कारण नै हुने गरेको सम्बन्धित अधिकारीले दाबी गरेका छन् ।

करिब ७० हजार वर्गमिलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया ताल अन्डाकारमा रहेको छ ।