हत्या अभियोगमा चीनमा महिलालाई मृत्युदण्ड

हत्या अभियोगमा चीनमा महिलालाई मृत्युदण्ड


सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ ।

सुसारेलाई दिइएको मृत्युदण्डबारे चीनको सर्वोच्च पिपुल्स अदालतले पुनरावलोकनसमेत गरेको स्थानीय अदालतले जनाएको छ ।

मृत्युदण्ड दिनुअघि मो का परिवारका सदस्यहरूलाई भेटघाटको अवसर दिइएको थियो । अदालतको आदेशमा भनिएको छ, ‘सुसारेको नियत बीभत्स, अति विद्वेषपूर्ण र खतरनाक देखियो । अपराधको दुस्परिणाम गम्भीर मात्र होइन, सार्वजनिक सुरक्षाका लागि समेत नोक्सानदेही पाइयो ।’

‘पक्राउ परेलगत्तै मो ले आगजनी गरेको स्वीकार गरे पनि अपराधको प्रकृति र क्रूरताले उनलाई उन्मुक्ति दिने सम्भावना कमै थियो,’ अदालतको भनाइ छ, ‘प्रमाणहरू यथार्थपरक र पर्याप्त थिए, र सजाय उपयुक्त रहेको अदालतको ठम्याइ छ ।’

जुवातास खेल्ने कुलतमा फसेकी मो ले अन्ततः घरायसी काम गर्न थालेको बताइएको छ ।