सार्वजनिक लेखा समितिको सभापतिमा शाह निर्विरोध

सार्वजनिक लेखा समितिको सभापतिमा शाह निर्विरोध


प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

समितिको आजको बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमाथि सांसद मीना सुब्बाले समर्थन गरेकी थिइन् । सो प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । समितिको सभापतिका लागि पूर्वअर्थराज्यमन्त्री शाहको एक मात्र उम्मेदवारी परेको थियो । समितिका ज्येष्ठ सदस्य शरतसिंह भण्डारीले सभापतिको उम्मेदवारीका लागि एक मात्र प्रस्ताव परेकाले शाह निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

बैठकमा ज्येष्ठ सदस्य भण्डारीले शाहलाई बधाई दिँदै समितिको उद्देश्यअनुसार भूमिका निर्वाह गर्न शुभकामना दिए । नवनिर्वाचित सभापति शाहले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधान र नियम कानुनअनुसार समितिका कामकारबाही प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाका १० वटै समितिका सभापति आज निर्विरोध निर्वाचित भएका छन् । दश समितिमध्ये आठ समितिको नेतृत्व प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा एक–एक समितिको नेतृत्व कांग्रेस र संघीय समाजवादी फोरम नेपालले लिएको छ ।