निर्माण व्यवसायी सिंहको नेतृत्वमा प्यानल घोषणा

निर्माण व्यवसायी सिंहको नेतृत्वमा प्यानल घोषणा


नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारण सभा र ११ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार रवि सिंहले आफ्नो प्यानल घोषणा गरेका छन् । सिंहले आफ्नो नेतृत्वमा चुनावी समुह पनि अघिसारेका छन् ।

सिंहको प्यानलमा वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे, महासचिवमा हुमनाथ कोइराला, प्रदेश नम्बर ३ मा उपाध्यक्षको लागि पेम्बा लामा, ४ नम्बर प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहाडी, ५ नम्बर प्रदेशको उपाध्यक्षमा रुद्र शर्मा, ६ नम्बर प्रदेशको उपाध्यक्षमा रत्न खड्का, ७ नम्बर प्रदेशको उपाध्यक्षमा टेकबहादुर सेट्ठी रहेका छन् ।

त्यस्तै उप–महासचिवमा नीतिगततर्फ सुर्य तिमल्सिना, आन्तरिकमा नरहरि थपलिया, कोषाध्यक्षमा हिरण श्रेष्ठ र सह–कोषाध्यक्ष सरस्वती कार्की रहेका छन् । १ र २ नम्बर प्रदेशमा छलफल भैरहेकाले अहिले नै उम्मेदवारी तय नभएको सिंहले जानकारी दिए ।

महासंघको विभिन्न पदमा रहेर १८ वर्ष काम काम गरेको अनुभव सुनाउँदै अध्यक्ष पदका उम्मेदवार सिंहले निर्माण व्यवसायी क्षेत्रमा व्याप्त रुपमा रहेको कार्टेलिङको अन्त्य गर्ने बताए ।

‘जसको नीति, उसकै नेतृत्व’ भन्ने नारा लिएर अध्यक्षको उम्मेदारी घोषणा गरेका सिंहले भने, ‘म यस संस्थाको विभिन्न पदमा रहेर काम गरिसकेको व्यक्ति हुँ, ठूला व्यवसायी र साना व्यवसायीको बीचमा भएको खाडललाई पुर्नको लागि म पुनः नेतृत्व लिन चाहेको चाहन्छु, यदि मैले जितें भने असमान कामको वितरणलाई न्यायोचित रुपमा सम्बोधन गर्नेछु ।’

उनले भने, ‘यस क्षेत्रमा धेरै प्रकारका नीतिगत र भौतिक सुधारको खाँचो छ । म त्यो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा निर्वाह गर्न सक्छु ।’

उनले भने, ‘मेरो नेतृत्वले निर्माण व्यवसायीहरुको उत्थान गर्ने हो । साना निर्माण व्यावसायीहरूको हितमा काम गर्ने हो, सरकारसँग हातेमालो गरेर विकास निर्माणका काम र खरिद ऐनलाई पारदर्शी बनाउने तवरले संशोधन गरेर समृद्धिको अभियानमा साथ दिने हो, जनतासँग नजिक रहने हो ।’

सिंह प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेदवार निकोलस पाण्डेले आफ्नो प्यानललाई जिताउनको लागि आग्रह गरेका छन् । आफूले यसअघि पनि उपाध्यक्ष भएर काम गरिसकेको उनले सुनाए ।

उनले भने, ‘म एउटा निर्माण व्यवसायीको छोरा हुँ । मेरो बुवा सानो व्यवसायी हुनुहुन्थ्यो । उहाँले संघर्ष गरेर आज अमेरिकामा पनि एउटा कम्पनी खडा गरेर नेपालको शान उच्च राख्नुभएको छ ।’ उनी राप्रपाका नेता विक्रम पाण्डेका छोरा हुन् ।

यस्तै, सिंहको प्यानलका महासचिव पदका उम्मेदवार हुमनाथ कोइरालाले खरिद ऐनलाई व्यापक छलफल गरेर सरकारले अघि सारेको समृद्धिको अभियानमा साथ दिने लक्ष्यका साथ आफूहरु चुनावी मैदानमा ओर्लिएको बताए ।