किङ्स कप सेपाकताक्रो खेल्न नेपाली टोली थाइल्यान्ड प्रस्थान

किङ्स कप सेपाकताक्रो खेल्न नेपाली टोली थाइल्यान्ड प्रस्थान


नेपाली सेपाकताक्रो टोली ३३औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन असोज ५ गते शुक्रबार थाइल्यान्डको खोराट प्रस्थान गरेको छ । सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष तथा महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउनेछन् ।

पुरुषमा रूपेश सुनार (कप्तान), रोशन तामाङ, सुजन डंगोल, सञ्जीव धिमाल, रविन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया थापामगर (कप्तान), चन्द्रा चौधरी, भूमि थिङ लामा, स्वस्तिका श्रेष्ठ र सुमित्रा डंगोल छन् ।

टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रबहादुर गुरुङ र गंगाबहादुर गुरुङ छन् । प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिए । निर्णायकको भूमिकामा अर्जुनबहादुर ठकुल्ला र सलिना थापा पनि टोलीसँगै थाइल्यान्ड गएका छन् ।

किङ्स कपमा नेपालले २९औँ संस्करणदेखि भाग लिन शुरु गरेको थियो । त्यसयता एक संस्करणमाबाहेक नेपालले सबैमा भाग लिँदै आएको छ । २०७२ को भूकम्पका कारण नेपालले ३१ औँ संस्करणमा सहभागिता जनाएको थिएन ।

सहभागी ३ संस्करणमा हालसम्म नेपालले ४ कांस्य जितेको छ । २९औँ संस्करणमा नेपालले पुरुष रेगु, ३०औँमा पुरुष रेगु र डबल्स तथा ३२औँमा महिला रेगुमा कांस्य पदक जितेको थियो ।

टोलीलाई सफलताको शुभकामना दिँदै सेपाकताक्रो संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार त्रिपुरेश्वरमा एक कार्यक्रमबीच बिदाइ गरे ।