विश्वविद्यालय अन्तर्राष्ट्रिय खेलकुद दिवस

विश्वविद्यालय अन्तर्राष्ट्रिय खेलकुद दिवस


विश्वविद्यालय अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा आयोजित वाकाथनमा रोचक अधिकारीले पहिलो स्थान हात पारेका छन् । पहिलो स्थान हासिल गरेसँगै अधिकारीले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए । विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा भएको २ किलोमिटरको वाकाथन प्रतियोगितामा दोस्रो स्थानमा सञ्जयबहादुर श्रेष्ठ र तेस्रो स्थानमा सम्राट बम रहे । उनीहरूले क्रमशः नगद ३ र २ हजार तथा प्रमाणपत्र प्राप्त गरे ।

बानेश्वरस्थित ग्लोबल कलेजका विद्यार्थी खेलाडीबीच भएको प्रतियोगितामा महिलातर्फ स्वीकृति लिम्बू प्रथम, रोशनी हाडा द्वितीय र प्रीतिका श्रेष्ठ तृतीय भएका थिए । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवरले गरेका थिए । साथैै कुँवरले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघले सेम्टेम्बर २० तारिखलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । त्यसैअनुरूप विश्वविद्यालय खेलकुद महासंघले पनि विविध कार्यक्रमसहित उक्त दिवसलाई मनाउने क्रममा वाकाथन र सेमिनारको आयोजना गरेको थियो ।

यसका साथै बानेश्वरस्थित ग्लोबल कलेजमा संघले सेमिनारको आयोजना गरेको थियो । उक्त सेमिनारमा मित्रराष्ट्र भारत र बंगलादेशका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । सेमिनारमा अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघले खेलकुद क्षेत्रमा पुऱ्याएको योगदान, भाइचारा र अन्तरसम्बन्ध, विश्वविद्यालय खेलकुदको विकास र विस्तार, विश्वविद्यालयका विद्यार्थीबीच भाइचारा र सांस्कृतिक आदानप्रदानका, खेलकुद प्रतियोगिता र सहभागिता एवं कमी–कमजोरीका साथै आगामी दिनमा विश्वविद्यालय खेलकुदले पुऱ्याउनुपर्ने योगदानबारे विभिन्न प्रतिनिधिहरूले विचार व्यक्त गरेका थिए ।