भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङको निधन

भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङको निधन


भियतनामका राष्ट्रपति ट्रान दाइ क्वाङको ६१ वर्षको उमेरमा आज (शुक्रबार) निधन भएको छ ।

लामो समयदेखि गम्भीर रोगबाट प्रभावित क्वाङको उपचारकै क्रममा निधन भएको सरकारद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । स्थानीय समयाअनुसार शुक्रबार बिहान १० बजेर ५ मिनेट जाँदा उनको निधन भएको हो ।

उनले सन् २०१६ देखि राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । यसअघि उनले चार दशकभन्दा बढी गृह मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

आलंकारिक राष्ट्रपतिका रूपमा रहे पनि उनले भियतनामका प्रभावशाली नेताको छवि बनाएका थिए । गत साता आफ्नो कमजोर स्वास्थ्यका बीचमा पनि राष्ट्रपति ट्रानले इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको स्वागत कार्यक्रमको आतिथ्य गरेका थिए ।

हनोईमा चिनियाँ राजनीतिज्ञ र विदेशी प्रतिनिधिमण्डलसँग उनले सार्वजनिक रूपमा दुई दिन अगाडि मात्र भेटवार्ता गरेका थिए । कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका उनको पार्टीभित्र गहिरो प्रभाव रहेको बताइन्छ ।