आठ करोडको लगानीमा रिसोर्ट सञ्चालन

आठ करोडको लगानीमा रिसोर्ट सञ्चालन


तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आठ करोड रुपैयाँको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यु रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई लक्षित गर्दै व्यवसायी महेन्द्रमोहन भट्टराईले सो रिसोर्ट स्थापना गरेका हुन् ।

स्विमिङ पुलसहित सञ्चालन गरिएको रिसोर्ट २२ रोपनी १० आना क्षेत्रफलमा फैलिएको छ । पहिलो चरणमा रिसोर्टमा १० कोठा निर्माण गरिएको र यसलाई विस्तार गर्दै ४० सम्म पुऱ्याइने उनले बताए । दोस्रो चरणमा अर्को वर्ष १० कोठा र बाँकी तेस्रो चरणमा निर्माण गरिने र सो अवधिसम्म संरचना निर्माण सकिँदा नौ करोडसम्म लगानी पुग्ने अनुमान गरिएको व्यवसायी भट्टराईले बताए ।

‘पृृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुले गुणस्तरीय खानासमेत रिसोर्टमा पाउनेछन्,’ उनले भने, ‘तारे होटेलमा पाइने खानाको गुणस्तर यहाँ पनि पाइन्छ ।’ रिसोर्टमा स्विमिङ पुलको व्यवस्थासमेत छ । ‘गर्मीयाममा पौडी खेल्न पोखरा जानुपर्ने बाध्यता थियो,’ व्यवसायी भट्टराईले भने, ‘अब दमौली, डुम्रे र आँबुखैरेनीका सर्वसाधारणले नजिकै स्विमिङ पुलको मज्जासमेत लिन पाउनेछन् ।’

तनहुँ उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका उनले यस क्षेत्रमा सम्मेलन गर्ने भवनको अभाव देखेर रिसोर्टमै २०० जना क्षमताको सभाकक्ष र ३० जना क्षमताको बैठक कक्ष निर्माण गरेका छन् । रिसोर्टमा स्थानीय २० र काठमाडौंका दुई गरी २२ जनाले रोजगारी पाएका छन् ।

रिसोर्टमा बालबालिकालाई खेल्नका लागि बाल उद्यानसमेत बनाइएको छ । रिसोर्टका व्यवस्थापक अमर न्यौपानेले राजमार्गमा यात्रा गर्ने पर्यटक तनहुँ नबसी सीधै पोखरा या काठमाडौं जाने गरेकाले उनीहरूलाई तनहुँमै आकर्षण गर्ने व्यवस्था रिसोर्टले गर्ने बताए ।