पाँचथरमा रंगशाला निर्माणका लागि स्थानीयले दिए ५० रोपनी जग्गा

पाँचथरमा रंगशाला निर्माणका लागि स्थानीयले दिए ५० रोपनी जग्गा


पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रंगशाला निर्माणका लागि स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

फिदिम नगरपालिका–५ सरसिउलामा रंगशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । १० जना स्थानीय जग्गाधनीले फिदिम नगरपालिकाका नाममा ५० लाखभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रदान गरेका हुन् । प्रतिरोपनी एक लाखमा बिक्री भइरहेको जग्गा स्थानीयवासीले रंगशाला निर्माणको कार्य तत्कालै अघि बढाउन सहयोग पु¥याउने उद्देश्यले निःशुल्क प्रदान गरेका हुन् ।

अहिलेसम्म ६ जना जग्गाधनीले ३१ रोपनी जग्गा फिदिम नगरपालिकाका नाममा यसै प्रयोजनका लागि रजिस्टे«सन पास गरिसकेको जिल्ला मालपोत कार्यालय पाँचथरका निमित्त प्रमुख बाबुराम पोखरेलले बताए । नयाँ शहरका रूपमा विकास भइरहेको फिदिममा व्यवस्थित रंगशालाको आवश्यकता खड्किएको अवस्थामा स्थानीयले जग्गा प्राप्ति समिति बनाई रंगशाला निर्माणको आधार तयार गरिदिएका हुन् । स्थानीय जग्गाधनीले रामचन्द्र नेपाल संयोजक, गगन लावती सहसंयोजक र रामकुमार तामाङ सचिव रहेको सात सदस्यीय जग्गा प्राप्ति समिति बनाई रंगशाला निर्माणका लागि जग्गा निःशुल्क रूपमा सरकारी निकायलाई उपलब्ध गराएका हुन् ।

जग्गा प्राप्त भइसकेपछि सरकारी निकायबाट रंगशाला निर्माणको कार्य अघि बढ्ने स्थानीयको विश्वास छ । रंगशाला निर्माणका लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जग्गा प्राप्ति भइसकेपछि रंगशाला निर्माणको कार्य अघि बढ्ने बताए । रंगशाला पनि नयाँ शहरका लागि आवश्यक पूर्वाधारकै रूपमा पर्ने भएकाले रंगशाला निर्माणको कार्य यसै वर्षबाट अघि बढ्ने प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले पत्र पठाएपछि आयोजना कार्यालयले विस्तृत सर्वेक्षणको कार्य अघि बढाउनेछ । नयाँ शहर आयोजनाको कार्यालयको चालू आवको कार्यक्रममा रंगशाला निर्माणका लागि विस्तृत सर्वेक्षण गर्ने तथा निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने कार्यक्रम समावेश भएकाले ठेक्का प्रक्रिया यही आवभित्र शुरु हुने प्रजापतिको भनाइ छ ।