द्रुतमार्ग निर्धारित समयमै सम्पन्न हुन्छ : सेना

द्रुतमार्ग निर्धारित समयमै सम्पन्न हुन्छ : सेना


नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई–मधेश दु्रतमार्ग (फास्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशंका नगर्न आग्रह गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने दाबी गरे ।

सडकको रेखांकनअनुरूप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्र रूपमा भइरहेको जानकारी दिँदै उनले भने, ‘कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ ।’

सस्तो मूल्यमा गुणस्तरीय ढंगबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई संगठनले इतिहास रच्ने अवसरका रूपमा लिएर काम गरिएको पनि सो अवसरमा जानकारी दिइयो । उक्त द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको छ ।

उक्त कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने तथा सम्झौता भएको चार महिनाभित्र डीपीआर तयार हुने सेनाले जनाएको छ । उक्त डीपीआर करिब १० करोड १५ लाख रुपैयाँको लागतमा तयार हुनेछ । द्रुतमार्गले काठमाडौं र तराईलाई भावनात्मक र भौगोलिक रूपमा जोड्ने विश्वास गरिएको छ ।

प्रस्तावित ७६ किलोमिटर लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ । नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म एक हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ । द्रुतमार्गसहित ५२६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ ।