सभामुख महरा भन्छन्– प्रेस संकुचन हुने कानुनी प्रावधान संशोधन हुन्छन्

सभामुख महरा भन्छन्– प्रेस संकुचन हुने कानुनी प्रावधान संशोधन हुन्छन्


सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानुनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज राजधानीमा आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा सभामुख महराले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्न सक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे ।

विगतमा सूचनाको हकसम्बन्धी कानुनमा पनि सरोकारवाला निकायसँगको आवश्यक छलफलपछि संशोधन भएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘हालै पारित भएका संविधानका मौलिक हकसँग सम्बन्धित कानुनमा पनि केही कमी–कमजोरी भए तत्काल संशोधन गर्न सकिन्छ ।’

सभामुख महराले स्वस्थ र प्रतिस्पर्धात्मक समाज निर्माणका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै देश र जनताका पक्षमा समर्पित भएर पत्रकारिताको जिम्मेवारी निर्वाह गर्न आमसञ्चारकर्मीलाई आग्रह गरे । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको अधिकार प्रदान गरेको भए पनि अन्य कानुन बनाएर स्वतन्त्र प्रेसलाई संकुचन गर्ने प्रयास गर्नु दुःखद् भएको बताए । पछिल्लो समयमा प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गर्दै उनले त्यस्ता चुनौतीको सामना गर्न सबै सञ्चारकर्मीले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था हँुदाहँुदै पनि अन्य कानुनका आधारमा पत्रकार थुन्ने काम भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताविरोधी कानुन संशोधन नभएसम्म महासंघको आन्दोलन जारी रहने बताए । महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि जुनसुकै चुनौती आए पनि पत्रकारले जनताको हितका लागि शासकलाई प्रश्न गर्न नछोड्ने बताए ।