सवारीचालकको बन्दले बन्दरगाहमै थुप्रियो मल

सवारीचालकको बन्दले बन्दरगाहमै थुप्रियो मल


नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुक्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल बन्दरगाहमै थन्किएको हो ।

ढुवानी हुन नसक्दा किसान चर्को मूल्यमा मल किन्न बाध्य छन् । भारतबाट तस्करी गरी ल्याइएको ५० किलो तौलको युरिया मल एक हजार दुई सय रुपैपाँमा खरिद गर्दै आएको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका विजय पण्डितले बताए ।

तुर्किस्तानबाट आयात गरिएको पाँच हजार मेट्रिक टन मल बन्दरगाहमै थन्किएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जका क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले जानकारी दिए । ‘थप पाँच हजार मेट्रिक टन युरिया आयात गर्दै छौँ,’ उनले भने । माग अत्यधिक भए पनि संस्थानले प्रतिसहकारी संस्थालाई एकपटकमा सय बोरा मात्र दिने गरेको छ । ग्रामीण क्षेत्रका सहकारीले मल अभाव देखाएर बढी मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।

कम्पनीले पर्सामा आव ०७४–७५ मा युरिया मल १० हजार ३७५ मेट्रिक टन, डीएपी पाँच हजार ७९९ मेट्रिक टन र पोटास १५१ मेट्रिक टन बिक्री वितरण गरेको थियो । चालू आवको साउनमा नौ हजार ६९८ मेट्रिक टन रासायनिक मल बिक्री गरेको छ । कम्पनीले क्षेत्रीयस्तरमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिन्धुली, मकवानपुर, काभ्रे, धादिङ, काठमाडौं, चितवनलगायतका २० हजार ११४ सहकारी संस्थामार्फत गत आवमा ५८ हजार १३९ मेट्रिक टन मल बिक्री–वितरण गरेको थियो ।