नौ महिनामा पाँच लाख ६१ हजार अफगान शरणार्थी घर फर्के

नौ महिनामा पाँच लाख ६१ हजार अफगान शरणार्थी घर फर्के


अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थी घर फर्किएको संयुक्त राष्ट्रसंघीय बसाइँसराइ निकाय (आईओएम) ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानबाट सरकारी कागजबिनाका नौ सय ६९ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । यो संख्या गत हप्ताको तुलनामा वृद्धि भएको आईओएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो साता पनि कागजात नभएका ८९५ जना शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका थिए ।

यस्तै, गत साता १५ हजार ६६४ जना अफगान शरणार्थी इरानबाट फर्किएको आईओएमले जानकारी दिएको छ । गत हप्ता इरानबाट फर्किएका अफगान शरणार्थीको तुलनामा हालको यो संख्या १० प्रतिशतले वृद्धि भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

चरम हिंसात्मक द्वन्द्वका कारण अस्तव्यस्त रहेको अफगानिस्तानमा पाकिस्तान र इरानबाट गत जनवरी १ देखि हालसम्म ५ लाख ६१ हजार अफगान शरणार्थी घर फर्किएका छन् ।