जिल्लिए वामदेव, केपीविरुद्ध मोर्चाबन्दीको तयारी

जिल्लिए वामदेव, केपीविरुद्ध मोर्चाबन्दीको तयारी


नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् सचिवालय सदस्य वामदेव गौतमलाई डोल्पाका ‘साधारण केटा’ मानिने सांसद धनबहादुर बुढाले जिल्ल्याइदिएका छन् । गत भदौ १५ गतेभित्र सांसद पदबाट राजीनामा दिएर वामदेवका लागि निर्वाचन क्षेत्र खाली गरिदिने सर्तमा गौतमकै कोटाबाट राज्यमन्त्री बनाइएका बुढाले पदबाट राजीनामा नदिने मानसिकता बनाएपछि वामदेव जिल्लिने स्थिति बनेको हो ।

सांसद पद परित्याग गरेपछि आफूलाई कुनै हैसियत प्राप्त हुन नसक्ने ठानेर धनबहादुरले वामदेवका लागि क्षेत्र खाली गरिदिने सात महिनाअघिको प्रतिबद्धताबाट पछि हट्ने मनस्थिति बनाएका हुन् । वामदेव गौतमको इच्छा, प्रचण्डको योजना र झलनाथ खनालको सहयोगमा बनेको रणनीति तत्काल साकार हुने सम्भावना अब देखिएको छैन । डोल्पामा कात्तिकदेखि चिसो बढ्ने भएकोले फागुनसम्म त्यहाँ निर्वाचन हुन सक्ने सम्भावना रहँदैन । अब कदाचित धनबहादुरले पद त्याग गरे भने पनि आगामी चैतभन्दा पहिले डोल्पामा निर्वाचन हुन असम्भव छ ।

त्यसैले वामदेव र धनबहादुरबीच भदौ १५ गते राजीनामा दिएर मैदान खाली गर्ने र असोज अन्तिम सातामा उपनिर्वाचन गराउने आन्तरिक सहमति बनेको थियो । तर, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पद त्याग गरेको अवस्थामा आफूलाई अर्को कुनै जिम्मेवारी दिने मानसिकतामा नरहेको बुझेपछि धनबहादुर वामदेवसँग गरेको वाचाबन्धनबाट पछि हटेका हुन् । यद्यपि, वामदेव गौतम र प्रचण्डले भने केपी ओलीले योजनाबद्ध रूपमै धनबहादुरलाई राजीनामा दिनबाट रोक लगाएको ठानेका छन् ।

गत निर्वाचनमा बर्दियाबाट उम्मेदवार बन्दा केपी ओलीले नै आफूलाई पराजित गरिदिएको विश्वास वामदेवले गरेका छन् । धनबहादुर राजीनामा दिनबाट रोकिएपछि वामदेव केपीसँग झनै क्रूद्ध बनेका छन् । तथापि आफ्नो राजनीतिक यात्रामा थप सङ्कट पैदा गरिदिन सक्ने ठानेर गौतम ओलीका विरुद्ध खुलेआम उत्रन सकेका छैनन् । उनले राजीनामा दिएर आफ्ना लागि सिट खाली गरिदिने व्यक्ति (सांसद) को खोजी द्रुत गतिमा गरिरहेका छन् र प्रचण्डले पनि उनलाई यस कार्यमा दिलोज्यानले सहयोग पुऱ्याइरहेका छन् । कुनै पनि सांसद पद त्यागेर आफ्ना लागि मैदान खाली गरिदिन तयार भएनन् भने वामदेव गौतम केपी ओलीका विरुद्ध मैदानमै उत्रिने निश्चित छ ।

धनबहादुरले पद नछोड्ने भएपछि प्रचण्डले रुकुमबाट विजयी कमला रोकालाई राजीनामा गराउने प्रयास गरेका थिए, कमता त्यस निम्ति कुनै हालतमा तयार भइनन् । त्यसअघि प्युठानबाट विजयी सांसद दुर्गालाई राजीनामा गराउने प्रयास पनि भएको थियो, दुर्गा र मोहनविक्रम सिंहले नमानेपछि यो योजना पनि असफल भएको थियो । पछिल्लो समय दैलेखबाट विजयी सांसद रवीन्द्रराज शर्मालाई पदबाट राजीनामा गराउने प्रयत्न भइरहेको बुझिएको छ ।

कुनै पनि सांसद पद त्यागेर आफ्ना लागि मैदान खाली गरिदिन तयार भएनन् भने वामदेव गौतम केपी ओलीका विरुद्ध मैदानमै उत्रिने निश्चित छ ।

धनबहादुरले वामदेवका निम्ति निर्वाचन क्षेत्र छोडिदिने निश्चित ठानिएका बेला रवीन्द्रराजले वामदेवको मन जित्न ‘हजुरका निम्ति मैदान खाली गर्न मै पनि तयार छु’ भनी पटक–पटक भन्ने गरेका थिए । धनबहादुरले मन बदलेपछि रवीन्द्रराज आफ्नै वचनको फन्दामा परेका छन् । फन्दामा परे पनि उनले पदत्याग गर्ने सोच बनाएका छैनन्, बरु उनी अचेल वामदेव र प्रचण्डसँग भागीभागी हिँड्न थालेका छन् । यसरी अहिलेसम्म आफ्ना लागि मैदान खाली गरिदिने कुनै सांसद वामदेव गौतम र प्रचण्डले पाएका छैनन् । कसै न कसैलाई राजीनामा गराएर वामदेव गौतमलाई संसद्मा भित्र्याउने योजनाबाट प्रचण्ड पछि हटेका छैनन् ।

वामदेवलाई प्रतिनिधिसभा सदस्य बनाउन प्रचण्डले ज्यादा जोडबल लगाउनुको मुख्य कारण वामदेवको इच्छापूर्तिभन्दा प्रचण्डको आफ्नै राजनीतिक स्वार्थ रहेको देखिएको छ । केपी ओली र प्रचण्डबीच भएको सहमतिअनुसार साढे दुई वर्षपछि मात्र प्रचण्डको प्रधानमन्त्री बन्ने पालो आउनेछ । साढे दुई वर्षभन्दा पहिले नै केपीले पद त्याग गरेको या स्वास्थ्यमा खराबी उत्पन्न भई ओली पछि हट्नुपरेको अवस्थामा बाँकी अवधिका निम्ति पुरानो एमाले कित्ताबाट नै प्रधानमन्त्री पदमा दाबी रहने निश्चित छ । त्यस्तो स्थितिमा कदाचित माधवकुमार नेपाल या एमालेका अन्य कुनै नेता प्रधानमन्त्री बने भने आफ्नो राजनीतिक भविष्य सङ्कटमा पर्ने बुझाइ प्रचण्डको छ ।

त्यसैले एमालेपट्टिका कसैलाई प्रधानमन्त्री बनाउनुपरे पनि आफ्नो अनुकूलकै व्यक्तिलाई बनाउनुपर्छ भन्ने सोचअनुसार प्रचण्डले वामदेवलाई हतियारका रूपमा अघि सारेका हुन् । स्मरणीय छ, प्रचण्ड आफ्नो राजनीतिक भविष्यमा केपीपछि माधव नेपाल अड्चन बन्ने ठान्दछन् र उनको विचारमा वामदेव गौतम माधव नेपालका सहयोगी बन्न सक्दैनन् । बरु आफूले चाहेबमोजिम वामदेवबाट काम हुने विश्वासमा प्रचण्ड रहेका छन् ।

तर, उनको यो विश्वासले आकार लिन सक्ने सम्भावना अहिलेसम्म देखिएको छैन । त्यसैले आगामी ६ महिनाभित्र प्रचण्ड–वामदेवले केपी ओलीका विरुद्ध ठूलो घेराबन्दीको स्थिति पैदा गर्ने र ओलीलाई पद त्याग्नका निम्ति बाध्य तुल्याइन सक्ने सङ्केतहरू देखिएका छन् । केपीले आफ्नो मोर्चा समयमै बलियो बनाउन सकेनन् भने नेकपा र सरकार दुवै सङ्कटमा पर्ने सम्भावना प्रबल हुँदै गएको छ । केपीविरुद्धको मोर्चाबन्दीमा झलनाथ खनाल, ईश्वर पोखरेल र भीम रावललगायतका नेताहरूको पनि साथ रहने विश्वास प्रचण्ड–वामदेवले गरेका छन् ।