मोदी रिसाउने कारण थपियो !

मोदी रिसाउने कारण थपियो !


संयुक्त सैन्य अभ्यासमा सामेल हुने प्रतिबद्धता जनाएर पनि अन्तिम अवस्थामा आएर निर्णय फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बन्न पुगेको भारत अर्को एक विषयमा गरिएको प्रतिबद्धताबाट पनि ओली पछि हट्ने बुझेर थप झस्किएको समाचार प्राप्त भएको छ ।

सम्बद्ध सूत्रहरूबाट प्राप्त जानकारीअनुसार गत भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न बिमस्टेक सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एकल वार्ता हुँदा मोदीले अक्टोबर २ तारेखमा महात्मा गान्धीको एक सय पचासौँ जन्मजयन्ती परेको जानकारी गराउँदै सो दिन नेपालमा पनि एक समारोहको आयोजना गरी जन्मजयन्ती मनाइदिन आग्रह गरेका थिए ।

गान्धीजी विश्वकै अहिंसावादी एवम् शान्तिकामी नेता भएकोले उनको एक सय पचासौँ जन्मजयन्ती मनाएर शान्ति र अहिंसाको पक्षमा जागरण पैदा गर्नु उपयुक्त हुने र यसले दुई मुलुकबीचको भाइचारा सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास मोदीले ओलीसमक्ष प्रकट गरेका थिए । प्रधानमन्त्री ओलीले पनि मोदीका कुरामा सहमति जनाउँदै नेपालमा गान्धीको जन्मजयन्ती मनाइने प्रतिबद्धता जनाएको बताइन्छ ।

मोदीसमक्ष त्यसरी ‘जन्मजयन्ती’ मनाइने प्रतिबद्धता जनाइएको भए पनि यहाँ नेपालमा त्यससम्बन्धी कुनै तयारी भएको छैन । उक्त (२ अक्टोबरका) दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दै गान्धीजीका प्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरिने बुझिएको छ । कुनै समारोहको आयोजना नगरी केवल एउटा वक्तव्य दिएर श्रद्धाञ्जली अर्पण गरी ‘झारा टार्न खोजिएको’ भन्ने बुझाइ भारतीय पक्षको भएको बताइएको छ ।

संयुक्त सैन्य अभ्यासमा नेपाल सामेल हुने कुराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै खुसी भएको र उनले आफ्नो खुसी निकटवर्तीहरूसमक्ष प्रकट गरेपछि भारतीय सञ्चारमाध्यमहरूमा समेत नेपाल–भारत सम्बन्ध प्रगाढ बनाउन सफल भएको भन्दै मोदीको प्रशंसा भएको थियो । तर, अन्तिम अवस्थामा नेपाल आफ्नो प्रतिबद्धताबाट पछि हटेपछि त्यसले नरेन्द्र मोदीलाई त गहिरो चोट पुऱ्याएकै छ, यस प्रकरणले भारतमा गम्भीर तरङ्ग पैदा गरेको छ ।

तीन वर्षअघि संविधान जारी गर्ने क्रममा पैदा भएकोभन्दा दुईपक्षीय सम्बन्धमा कैयन गुणा बढी तनावको स्थिति देखापरेको कूटनीतिज्ञहरूले महसुस गरेका छन् । यो प्रकरणको अन्त्य तात्कालिक प्रतिक्रियामा मात्र सीमित नहुने, दूरगामी प्रभावका घटनाक्रमहरूको विकास हुन सक्ने नेपाल–भारत सम्बन्धका ज्ञाताहरूको भनाइ छ । यसरी संयुक्त सैन्य अभ्यास निम्ति गरिएको प्रतिबद्धताबाट पछि हटेका कारण उत्पन्न तनावलाई शिथिल तुल्याउन प्रधानमन्त्री ओलीबाट परिणामुखी प्रयास भइरहेको छैन ।

यसैबीच मोदीसँग गरिएको अर्को प्रतिबद्धता (गान्धीजयन्ती मनाउने) पनि तोडिने भएपछि दुई पक्षबीच उत्पन्न अविश्वास र तनावको गहिराइ थप बढ्ने सम्भावना देखिएको छ । नेपाल र भारतबीच सङ्लिँदै गरेको सम्बन्ध पुनः धुमिल हुँदै गर्दा प्रधानमन्त्री केपी ओलीको ‘राष्ट्रवादी छवि चम्किने’ सम्भावना देखिए पनि देशका निम्ति भने कष्टकर हुन सक्ने चिन्ता थपिएको छ ।