प्रवासको दौडधुपबीच यसरी प्रष्फुटन भयो राजको प्रतिभा

प्रवासको दौडधुपबीच यसरी प्रष्फुटन भयो राजको प्रतिभा


– राजन घिमिरे, अष्ट्रेलिया

नेपाल रहँदा प्रवासमा आएर यसरी गीत–संगीत क्षेत्रमा सक्रिय भइएला भन्ने कुरा उनले कहिल्यै सोचेका थिएनन्, तर जीवनमा सोचेकोभन्दा पनि नसोचेको कुरा हातलाग्दो रहेछ । यो अनुभव बटुलेका छन् सिड्नीका राज के. गोश्वामीले । विशेष गरेर अष्ट्रेलियामा रहेका नेपालीहरूमाझ राम्रा गायक, सहयोगी र कार्यक्रम आयोजकका रूपमा उनले आफूलाई स्थापित गराएका छन् भने केही समययता आएर नेपालमा पनि गीत–संगीतमार्फत राजले आफ्नो उपस्थिति जनाइरहेका छे ।
‘प्रवासमा गीत–संगीत क्षेत्रमा लाग्नु भनेको दाम होइन नामको लागि हो । यहाँको दौड़धुपबाट बचेको समयमा आफ्नो प्यासनमा लाग्नुपर्छ, सजिलो कहाँ छर ?’ उनले यथार्थ खुलाए । सिड्नीको माहोल र साथाभाइले दिएको उत्साहका कारण आफू गायन क्षेत्रमा लागेको प्रष्ट्याए राजले ।

राज गीत मात्र गाउँदैनन्, अष्ट्रेलियामा नेपालबाट साथीहरूसँग मिलेर ‘नेपाली टच’ नामक संस्थामार्फत कलाकारहरू ल्याई विभिन्न कार्यक्रम आयोजना पनि गर्छन् । पछिल्लोपटक ‘नेपाली टच’ले नेपाल आइडियललाई अष्ट्रेलिया ल्याउँदा प्रशंसा बटुल्यो । ‘आर्थिक रूपमा कस्तो भयो भन्ने कुरा नगरौँ, तर त्यो कार्यक्रमले अष्ट्रेलियामा राम्रै नाम कमायो’, यसरी सन्तुष्टि व्यक्त गर्छन् छन् राज ।

अष्ट्रेलियामा रहेका नेपालीमाझ नेपालबाट राजेश हमाल, करिश्मा मानन्धर, शिव परियार, अन्जु पन्त, मेलिना राई लगायतका चलेका कलाकारहरूलाई भित्र्याएर गजबको काम गरेको छ नेपाली टचले । त्यसैले त पछिल्लो समय अष्ट्रेलियाको नेपाली समुदायबीच नेपाली टच र राज के. गोस्वामीको चर्चा चुलिएको छ ।

प्रवासको संघर्ष, अनुभव र प्यासन (अभीष्ट)ले गीत–संगीतकर्मी बन्न पुगेका राज के. अब चाँडै नयाँ एल्बममार्फत सांगीतिक बजारमा आउने भएका छन् । नेपालको दमकमा जन्मिएर १० वर्ष अगाडि अष्ट्रेलिया हानिएका उनले पाँच वर्षअघि कोशिस नामक एल्बम प्रकाशमा ल्याएका थिए भने अब आगामी महिना कोशिस–२ नामक एल्बम ल्याउने भएका छन् ।

‘यसमा हरेक सेवादार गीत–संगीतहरू हुने छन् । १० ओटा गीतहरू समावेश यो अल्बममा मलाई आस्था राउत र मेलिना राईले साथ दिनुभएको छ’, राजले एल्बमको बारेमा भने । आगामी अक्टुबर २६ का दिन लाइभ प्रस्तुतिका साथ आफ्नो नयाँ एल्बम कोसिस–२ सार्वजनिक गर्ने तयारीमा यतिबेला जोडतोडका साथ लागिपरेका छन् राज के. गोस्वामी ।