समुद्रपारि महत्वपूर्ण भेटवार्ता

समुद्रपारि महत्वपूर्ण भेटवार्ता


शुक्रबार (भदौ २९ गते) सपरिवार बैंककतर्फ प्रस्थान गर्नुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र आगामी शुक्रबार (असोज ५ गते) श्रीलङ्का जानुहुने भएको छ । आफ्नी बडामहारानी, बुहारी, नाति तथा सहयोगीहरू लिएर बैंकक जानुभएका उहाँले त्यहीँ अध्ययन गरिरहेका नातिनीहरूसँग धेरै समय बिताउनुभएको बुझिएको छ । तर, श्रीलङ्कामा भने पूर्व श्री ५ को महत्वपूर्ण भेटवार्ताहरू हुने सम्बद्ध समाचार सूत्रहरूले जनाएका छन् ।

करिब दुई साता श्रीलंकामा रहँदा केही मुलुकका उच्चाधिकारीहरूसँग राजाको महत्वपूर्ण भेटवार्ता हुने बताइएको छ । श्रीलङ्काबाट उहाँ केही दिनको लागि माल्दिभ्स जानुहुने र त्यहाँबाट भारतको मुम्बई पुग्ने कार्यक्रम रहेको छ । मुम्बईमा एक साधुले उहाँको नाममा एउटा विशेष महायज्ञ गरेको र असोज २८ गते पञ्चमीका दिन प्रारम्भ हुने यज्ञमा सहभागी हुन उहाँ एक दिनअघि नै मुम्बई जानुहुने जानकारी प्राप्त भएको छ ।

मुम्बईमा केही दिन रहँदा पूर्व श्री ५ को मोहन भागवतलगायत महत्वपूर्ण व्यक्तिहरूसँग भेटवार्ता हुने भएको छ । उहाँ सप्तमी (फूलपाती)का दिन काठमाडौं आइपुग्नुहुने र भोलिपल्ट महाष्टमीका दिन शक्तिपीठहरूको दर्शनमा समय बित्ने बताइएको छ । महाअष्टमीका दिन पूर्व श्री ५ बाट नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा, महाँकाल, नरदेवी, रक्तकाली, शोभा भगवती र इन्द्रायणी पीठको दर्शन गर्ने कार्यक्रम तय भइसकेको छ । विजयादशमीका दिन आमजनतालाई उहाँबाट टीका लगाउने कार्यक्रम रहेको छ ।