बलात्कारमा प्रहरी संलग्नताको चर्चा

बलात्कारमा प्रहरी संलग्नताको चर्चा


काठमाडौं/ केही समययता राष्ट्रिय सरोकार समाजद्वारा हप्ताको एक दिन कुनै एक राष्ट्रिय सरोकारको विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आइरहेकोमा यो हप्ताको विषय थियो, ‘प्रहरीबाट बलात्कृत महिला र मानवाधिकार कारबाही किन र कसरी गर्ने ?’

प्रतिनिधिसभाको परराष्ट्र सम्बन्ध तथा मानवाधिकार समितिका सभापति हिरण्यलाल श्रेष्ठले कार्यक्रममा सहभागी हुँदै शान्तिसुरक्षाको जिम्मा लिएका प्रहरी स्वयम्बाट महिलाहरू बलात्कृत हुनु ज्यादै दुःखलाग्दो कुरा हो भन्नुभयो । आयोजकले सबैलाई खटिएको विषयमा बेलैमा अन्तरक्रियाको आयोजना गरी ध्यानाकर्षण गराएको बताउँदै सभापति श्रेष्ठले समितिले ठोस नीति तर्जुमा गरी सरकारलाई कारबाही गर्न दबाब दिने र यसका सबै पक्षको सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।

वरिष्ठ अधिवक्ता सिन्धुनाथ प्याकुऱ्यालले बलात्कारीहरूलाई कारबाही गर्ने कानुनको अपर्याप्तताभन्दा पनि कारबाही गर्ने मानसिकताको अपर्याप्तता रहेको बताउँदै राष्ट्रियस्तरको मानवाधिकार आयोग गठन नभएसम्म समस्या समाधान नहुने विचार व्यक्त गर्नुभयो ।

लामो समयदेखि महिला आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी प्राध्यापक डा. शान्ता थपलियाले हिरासतमा रहेका महिला बन्दीहरूलाई प्रहरीले शारीरिकभन्दा पनि मानसिक रूपमा नग्याएर बलात्कार गर्ने गरेको विचार व्यक्त गर्नुभयो । जानेर होस् वा नजानेर पत्रकारहरूले महिलाको अस्मितामाथि बलात्कार गर्ने गरेकोमा केही समययता त्यसमा निकै सुधार आएको चर्चा गर्दै डा. थपलियाले पत्रकारहरूले गरेको अनुसन्धान सबैभन्दा दरो हुने हुँदा सत्य र तथ्यमा आधारित रिपोर्टिङ गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो । शताब्दीऔँदेखि महिलालाई यौनको प्रतीक र वस्तुको रूपमा लिइँदै आएको बताउनुहुँदै अधिवक्ता गीता सङ्ग्रौलाले एक्काइसौँ शताब्दीको मुखैमा आएर पनि समाजले अझै महिलामाथिको बलात्कारलाई सामान्य घटनाको रूपमा लिइनु आश्चर्यको कुरा हो भन्नुभयो ।

हरियाली पार्टीका महासचिव एवम् मानवाधिकारवादी कार्यकर्ता चेतेन्द्रजंग हिमालीले सामाजिक जागरण नभएसम्म महिलामाथिको हिंसा, बलात्कार र हेर्ने दृष्टिकोणमा परिवर्तन नआउने विचार व्यक्त गर्नुभयो ।

अधिवक्ता इन्दु तुलाधरले संयोजन गर्नुभएको सो अन्तरक्रिया कार्यक्रममा मानवाधिकार र महिला आन्दोलनमा संलग्न विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको साथै पत्रकारहरूको समेत ठूलो सहभागिता थियो ।

विषय सामयिक र नयाँ चयन गरे पनि आयोजकहरूले कार्यक्रमलाई हल्का रूपमा लिएकाले गृह मन्त्रालय, महिला तथा समाज कल्याण मन्त्रालय, संसदीय समिति र प्रहरीको भने उपस्थिति रहेको पाइएन । हप्ताको एकपटक कार्यक्रमको आयोजना गर्नुको सट्टा बरु महिनाको एकपटक गरेर भए पनि कार्यक्रमको व्यवस्थापन भने राम्रोसँग गर्नुपर्ने सहभागीहरूले महसुस गरेका थिए ।

सन् १९९१ मा देशभर एक सय ६० वटा बलात्कारका घटना भएकोमा त्यसमध्ये ४ वटा घटनामा प्रहरी प्रत्यक्ष रूपमा संलग्न रहेको सोसियल वाच गु्रपको प्रतिवेदनबारे पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

(घटना र विचार साप्ताहिक, ३० वैशाख २०५५)