करका लागि छोरीचेलीको देहव्यापार ?

करका लागि छोरीचेलीको देहव्यापार ?


– बबिता बस्नेत

मुलुकमा सङ्घीयता आएपछि सुन्नुपर्ने नपर्ने अनेक प्रकारका कुरा सुन्न थालिएको छ । जनप्रतिनिधिले विभिन्न ठाउँमा बोल्दै आएका कुराहरू सुन्दा यस्तो लाग्छ, सङ्घीयतालाई मेटाउने वातावरण यो देशमा कसैले बनाउँछ भने ती सङ्घीयताका कारण विभिन्न ओहोदामा पुगेका जनप्रतिनिधिहरूले नै बनाउनेछन् । कतिपय स्थानीय जनप्रतिनिधिहरूले सडकमा मकै पोल्ने, तरकारी बेच्ने निमुखाहरूसँग कर लगाउने कुरा गरिरहेका बेला प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा रेडलाइट एरिया (देहव्यापार क्षेत्र) तोक्नुपर्ने बताएर मानिसलाई स्तब्ध बनाएका छन । रेडलाइट एरिया तोक्ने पनि केका लागि भन्दा कर उठाउनका लागि रे ! उहाँका भनाइहरू सुनेपछि मनमा उठेको प्रश्न, आफ्ना छोरीचेलीको देहव्यापारबाट पैसा उठाएर चल्नुपर्ने गरी हामी त्यति तल गिरिसक्यौँ ?

पर्यटन नगरीका रूपमा पोखराको आफ्नै महत्व छ, मान र शान छ । काठमाडौंको धुलो धुवाँ, ट्राफिक जामलगायतका अनेक असुविधा भोगेर पोखरा पुगेका पर्यटकहरू नेपालप्रति फरक ‘इम्प्रेसन’ बोकेर आफ्नो मुलुक फर्कने गरेका छन् । जुन ‘इम्प्रेसन’ले उनीहरूलाई नेपालप्रतिको दृष्टिकोण नै बदलिदिन्छ । एकपटक पोखरा पुगेका पर्यटकहरू फेरि पनि फर्कन चाहन्छन् या फर्केर नेपाल आउने गरेका छन् । यसरी पर्यटक आउनुको कारण सेक्स टुरिजमका लागि नभएर त्यहाँको स्वच्छता र प्राकृतिक सौन्दर्यता नै हो । वर्षौंदेखि चल्दै आएको यो क्रमलाई नबुझेर हो या नबुझेजस्तो गरेर मुख्यमन्त्रीले पोखरालाई पर्यटकीय नगरी बनाउन सेक्स टुरिजम र ट्याक्सबारे बोलिदिँदा फेवाताल र माछापुच्छ«ेकै सुन्दरतामै आँच आएझैँ भएको छ । होम स्टे, परम्परागत नाचगानलगायतका कार्य गरेर पर्यटक भित्र्याइरहेका सर्वसाधारणको मात्र नभएर पोखरावरिपरिको प्राकृतिक सौन्दर्यताकै मान, शान र आत्मसम्मानमा चोट पुगेको छ ।

आफ्नो रहरले या कतिपय विकसित मुलुकमा झैँ मेरो शरीर मेरो अधिकार भन्ने मान्यताले निर्देशित भएर नेपाली महिला देहव्यापारमा संलग्न छैनन् ।

सङ्घीयता भएका कतिपय मुलुकमा आफ्नो ठाउँलाई कसरी अरूभन्दा फरक र उत्कृष्ट बनाउने भनेर होड चल्ने गरेको छ । कतिपय मुलुक त सङ्घीयताकै कारण थप द्वन्द्वमा फसेका र अन्ततः जनताले धेरै नराम्रो परिणाम भोग्नुपरेका उदाहरण पनि छन् । कसरी आफ्नो ठाउँलाई फरक बनाउने भन्नेबारे सोच्दै जाँदा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको माइण्डमा सेक्स टुरिजम आएको भए विश्वका केही शहरमा त्यस्तो चलेकै छ, सोचा आउनु खराब होइन भनेर मान्न सकिन्छ । तर, त्यो केका लागि ? भन्दा सेक्स वर्करबाट ट्याक्स उठाएर जनप्रतिनिधको सेवासुविधालाई निरन्तरता दिनका लागि भन्ने कुराले हाम्रो राजनीतिक प्रणालीमाथि नै प्रश्न उठाउन मिल्ने बनाइदिएको छ । हिजोका दिनमा यति धेरै राजनीतिकर्मी ओहोदामा थिएनन्, जसका कारण ओहोदा धान्नका लागि यति तल खसेर सोच्नु या बोल्नुपर्ने अवस्था थिएन भनेर मानिस चर्चा गर्न थालेका छन् । यस्तो चर्चा हुनुका पछाडि थप दुईवटा कारण छन्, पहिलो— ट्याक्सका बारेमा अहिले झैँ गरी विगतमा कहिल्यै अनेक निर्णयहरू गरिएको थिएन । दोस्रो—उठाएको ट्याक्सले जनप्रतिनिधिको खर्च धान्नेबाहेक अरू मुलुकमा झैँ विकास निर्माण, जनतालाई सुविधा या अन्य कुराको परिकल्पना गरिएको छैन ।

नेपाली महिला देहव्यापारमा संलग्न छँदै छैनन् भन्ने होइन, छन् । तर, कुनै पनि जन या राज्यका प्रतिनिधिले ती महिलाको बाध्यात्मक देहव्यापारलाई ‘रेडलाइट एरिया’ तोकर कर उठाउनेबारेमा सोच्नुभन्दा पहिला उनीहरू आफ्नै शरीरको व्यापार गर्न किन बाध्य छन् ? भनेर खोजी गर्नु आवश्यक छ । आफ्नो रहरले या कतिपय विकसित मुलुकमा झैँ मेरो शरीर मेरो अधिकार भन्ने मान्यताले निर्देशित भएर नेपाली महिला देहव्यापारमा संलग्न छैनन् । महिनाको दश–पन्ध्र हजार मात्रै पनि आम्दानी हुने गरी खाने ठाउँ पाए भने पोखरा मात्र होइन, कुनै पनि नगरीमा देहव्यापारीहरू भेट्न मुस्किल पर्छ भन्न सकिन्छ । त्यसका लागि राज्यले आर्थिक उपार्जनका उपायहरू निकाल्न जरुरी छ । अझ पोखराजस्तो पहिले नै बनिबनाउ पर्यटकीय क्षेत्रमा त महिलालाई उद्यम–व्यवसायतिर प्रोत्साहित गरेर उनीहरूले उत्पादन गरेका सामग्रीहरू पर्यटकलाई बेच्न सक्ने बनाउन सकिन्छ । यसो गर्न सकेमा निश्चित छ, सेक्सभन्दा सिर्जना किन्नेहरूको सङ्ख्या धेरै हुनेछ । नेपालमा सिर्जनशील मानिसको कमी छैन, वातावरण नमिलेको मात्रै हो । उयुक्त वातावरण र बजारको व्यवस्था हुने हो भने हाम्रा सिर्जनाहरू विश्वव्यापी हुनेछन् । नेपाल आउने पर्यटक बैंकक या आर्मस्ट्रडम जाने कतिपय पर्यटकझैँ सेक्स किन्ने सोच राखेर भित्रिएका हुँदैनन, नेपालमा हेर्ने र देखाउने कुरा धेरै छन् ।

पर्यटकीय क्षेत्रमा त महिलालाई उद्यम–व्यवसायतिर प्रोत्साहित गरेर उनीहरूले उत्पादन गरेका सामग्रीहरू पर्यटकलाई बेच्न सक्ने बनाउन सकिन्छ । यसो गर्न सकेमा निश्चित छ, सेक्सभन्दा सिर्जना किन्नेहरूको सङ्ख्या धेरै हुनेछ । नेपालमा सिर्जनशील मानिसको कमी छैन, वातावरण नमिलेको मात्रै हो ।

मानिसका सोचहरू अभिव्यक्तिमार्फत सार्वजनिक हुने गर्छन् । अभिव्यक्तिमार्फत जनप्रतिनिधिहरूका यसप्रकारका सोचहरू बाहिर आउँदा उहाँहरू स्वयम्लाई नयाँ कुरा बोलेँ या राम्रो कुरा गरेँ भन्ने लागेका हुँदो हो, तर उहाँहरूलाई मतदान गर्ने सर्वसाधारणलाई भने आफ्नो मतको अपमान भएझैँ लाग्ने रहेछ । पोखरावासी र वरिपरिका स्थानीयहरूले आफ्ना मुख्यमन्त्रीको यसप्रकारको अभिव्यक्तिलाई सहज मानेका छैनन् । जनप्रतिनिधि भनेका सर्वसाधारणका लागि अभिभावक हुन् । अभिभावकले सामान्यतया आफ्ना छोरीचेलीको देहव्यापारको परिकल्पना गर्न सक्दैन । मनमै खोट भएका असामान्यहरूले त जे पनि गर्छन् । आफ्ना छोरीचेली भारतलगायत विश्वका विभिन्न वेश्यालयहरूमा बेच्ने बाबु र दाजुभाइहरू पनि छन् । छोरीचेलीको बलात्कार गर्ने अभिभावकहरू पनि छन् ।

हामीकहाँ होटेलमा बस्न जाने हरेक जोडीमध्येका महिलालाई देहव्यापारी ठान्ने गरिएको छ । प्रेमी–प्रेमिका या जेसुकै सम्बन्धका हुन् केटा र केटी बसेका ठाउँमा प्रहरीले छापा मार्ने चलन विश्वमा शायदै होला, तर हामीकहाँ ठूलो बहादुरी गरेझैँ गरी पक्राउ गरेर सार्वजनिक गर्ने गरिएको छ । कारणचाहिँ शान्तिसुरक्षामा खलल पु¥याएको भन्ने गरिएको छ । बाहिर कसैले नदेख्ने, नसुन्ने गरी कोठामा चुकुल लगाएर बस्नेहरूबाट शान्तिसुरक्षामा कहाँ, कसरी दखल या खलल पुग्यो भनेर हामीमध्ये कसैले पनि सोध्ने गरेका छैनौँ । सर्वसाधारणले प्रश्न नगर्ने बानीको फाइदा विगतमा धेरैले उठाए, आशा गरौँ अब यसप्रकारका कार्य हुने छैनन् । जनप्रतिनिधिज्यूहरू आफ्नो सेवासुविधाका लागि अरू जे–जे गर्नुपर्ने हो गरौँ, तर कम्तीमा आफ्नै छोरीचेलीको देहव्यापारको परिकल्पना नगरौँ ।