जापानमा सीप सिकेर जापानकै कमाई नेपालमा गर्न सकिने दाबी

जापानमा सीप सिकेर जापानकै कमाई नेपालमा गर्न सकिने दाबी


विदेशमा रगत पसिना बगाएर हुने कमाई स्वदेशमै खुशीका साथ श्रम गरेर आर्जन गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले जापानमा एक अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको छ । गैरआवासीय अभियानकर्ता कपिलदेव थापाको अग्रसरतामा ‘समृद्धिको आधार कृषि, कृषि अभियानमा गैरआवासीय नेपाली’ नाराका साथ कार्यक्रम आयोजना हुन लागेको हो ।

एनआरएनए आईसीसी (ग्लोबल सह–संयोजक) रहेका थापाले सो संस्थाको कृषि प्रवद्र्धन समिति सदस्यका रूपमा समेत सक्रियता दर्शाउँदै आएका छन् । एनआरएनए आईसीसी कृषि प्रबद्र्धन समिति एशिया प्यासिफिक र एनआरएनए जापानले आयोजना गर्न लागेको कृषिसम्बन्धी उक्त अन्तरक्रिया आगामी आइतबार (२३ सेप्टेम्बर)का दिन जापानको टोकियोस्थित नेपालीहरूको जमघट हुने सोलमारी मुरा हलमा आयोजना हुने थापाले जानकारी दिए ।

अन्तरक्रियामा जापानका वरिष्ठ कृषिविज्ञहरू सहभागी हुने उल्लेख गर्दै उनले कृषिसम्बन्धी उक्त कार्यक्रममा सहभागी भई विज्ञका कुरा सुन्न र आफ्ना कुरा पनि सुनाउन आग्रह गरेका छन् । जापानी विज्ञबाट ज्ञान लिएर स्वदेशमा उन्नत ढङ्गले अर्गानिक कृषि व्यवसाय गरी जापानमा भन्दा ज्यादा आर्जन गर्न सकिने कपिलदेवको दाबी छ ।

आफ्ना पुर्खाले छोडेका, आफैले जोडेका र अरुसँग भाडामा लिइएका जमिनको सदुपयोग गरी अन्तर्राष्ट्रिय बजारमा बेचिएका या बेचिन तयार भएका नेपाली पाखुरालाई नेपाल आमालाई सिँगार्ने कर्ममा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।