बेल्जियममा नेता पौडेलले बोली बिराउँदा…

बेल्जियममा नेता पौडेलले बोली बिराउँदा…


सन्तोष न्यौपाने, बेल्जियम

‘त्यो हाम्रो बुद्धि नभएको छ नि… एउटा मन्त्री… के रे नाम ?’– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अभिव्यक्ति ।
उपस्थितले ‘लालबाबु पण्डित’ भन्दै चिच्याए ।

त्यसपछि पौडेलले पुनः भने, ‘अँ पण्डित… त्यो कम्निस्ट, म त्यस्ताको पक्षमा छैन ।’

नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलद्वारा बेल्जियममा आइतबार आयोजित कार्यक्रममा देशको एक मन्त्रीलाई अनादर गर्दै दिइएको उक्त अभिव्यक्तिको सम्बन्धित सबैले आलोचना गरेका छन् ।

काङ्ग्रेसको शीर्ष तहका नेता पौडेलले आफ्नै उमेरका अर्को पार्टीका नेताबारे यसरी सार्वजनिक रूपमा बोल्नाले पौडेलको राजनीतिक स्तरलाई प्रस्ट पारेको छ । उनले यो अभिव्यक्ति बहसको विषय बन्नुपर्दछ । अझ नयाँ मुलुकी संहितासँग जोडेर भन्ने भने त यसरी गाली गर्न किमार्थ पाइँदैन । तर, नेता पौडेलले नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको १०५औं बीपी जयन्ति तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री पण्डितको खिल्ली उडाउने प्रयास गरे, जो निकै लज्जास्पद तथा हास्यास्पद देखियो ।

मन्त्री लालबाबु पण्डितले विदेशमा बसेर उतैको नागरिक बन्नेहरूलाई नेपालको नागरिकता प्रदान गर्न नहुने तर्क विगतदेखि नै दिँदै आएका छन् । देशको नागरिकता त्याग गर्नेप्रति बेला–बेलामा उनी निकै रुष्ट हुने गर्दछन् । केही हदसम्म राष्ट्रवादको विषयमा यो सही पनि हुन आउँछ । यही विषयलाई सन्दर्भ बनाएर उपस्थित प्रवासीहरूको प्रशंसा बटुल्न खोज्दै थिए रामचन्द्र पौडेल । तर, क्षणिक प्रशंसा बटुल्न अर्को पार्टीको नेतालाई तथानाम गाली गर्नु पौडेलजत्तिका हाइट भएको नेताका निम्ति सुहाउँदो कुरा थिएन ।

वास्तवमा मन्त्री पण्डितकै कारण युरोपमा बसेर नेपालको पेन्सन पूरा गरेका वा गर्दै गरेकाहरूलाई झड्का दिएको थियो । त्यसबखत धेरैले उताको जागिरबाट बीचमै राजीनामा पनि दिए । राजनैतिक पहुँच हुने र पेन्सन सुविधा लिन नजिक हुनेहरूले आफ्नो ब्यवस्था गरे । तर मन्त्री पण्डितको अडानले धेरैलाई जागिर छाड्न बाध्य चाहिँ बनायो, जुन राष्ट्रको हित हुने कर्म हो । यो कार्यको सबैले दिल खोलेर प्रशंसा गर्न सक्नुपर्छ, न कि आलोचना ।

यसै क्रममा जनसम्पर्क समिति बेल्जियमको चरम गुटबन्दीको भुमरीमा नेता पौडेल फसेका छन् । उदारहणको रूपमा लक्जेम्बर्गको कार्यक्रमलाई लिन सकिन्छ । नेपाली काङ्ग्रेस पार्टी केन्द्र्रको पत्रलाई पौडेलले मान्यता दिएनन्, जुन विवादको विषय बन्यो । पत्रमा समितिका पूर्वअध्यक्ष गंगाधर गौतमलाई केन्द्रिय प्रतिनिधि तोकेर ‘युरोप महामन्त्री’ लेखिएको थियो । यही पत्र विवादको विषय बन्यो । तर, नेता पौडेलले गतिलो भूमिका खेल्न सकेनन् । फलस्वरूप वर्तमान महासचिव सुवास गुरुङलगायतका असन्तुष्ट पक्षले कार्यक्रम बहिष्कार ग¥यो ।

विगतमा भाँडिएको समितिलाई एकतामा गाँस्ने काम गरेका पौडेल योपाली भने चुके । किनकि, विवाद केन्द्र्रिय प्रतिनिधि तोकिएकोमा नभई युरोप महामन्त्री पद दिएकोमा पैदा भएको थियो । मन्त्रीलाई अपशब्द बोल्ने र कार्यकर्ता मिलाउन नसक्ने नेता पौडेलले केन्द्रमा कस्तो भूमिका खेल्लान् भन्ने जिज्ञासासहित उपस्थित कतिपयले ‘पौडेल जस्ता नेतालाई अब नेपाली काङ्ग्रेसले आराम गर्ने मौका दिनुपर्छ’ भन्ने सुझाव दिए । प्रधानमन्त्री ओली बोलीका लागि चर्चित छन्, उनी उखान हालेर मिलाई–मिलाई बोल्छन् । तर, पौडेल त उखान तुक्का हाल्न पनि नजान्ने, खाली जथाभावी बोल्ने मात्रै काम गरेर ओलीभन्दा आलोच्य बन्न पुगे ।