नेपालकै आँगनमा रमाऊँ

नेपालकै आँगनमा रमाऊँ


मुकुन्द शर्मा

हिमाल गाऊँ कि मधेश गाऊँ
पहाड गाऊँ म स्वदेश पाऊँ
मिलिजुलीको बरियो समाऊँ
नेपालकै आँगनमा रमाऊँ

मेची नुहाऊँ कि नुहाउँ काली
कि गण्डकीमा कटुता पखाली
सदा श्रमोपार्जित अन्न खाऊँ
नेपालकै आँगनमा रमाऊँ

अतन्द्र जागा प्रहरी बनूँ म
अनन्तमा वायुसरी बनूँ म
सधैँ सुरक्षा दिन जम्जमाऊँ
नेपालकै आँगनमा रमाऊँ

म गाउँलाई र बजारलाई
म नै अरूको अधिकारलाई
कर्तव्यमा पुण्य महान् कमाऊँ
नेपालकै आँगनमा रमाऊँ

तिमीबिना हुन्न म पूर्ण कैले
उनी भएरै छु म पूर्ण अ‍ैले
सबै सबैका सपना सजाऊँ
नेपालकै आँगनमा रमाऊँ

मच्छिन्द्रको चौखटमा नुगेर
कि बागमतीको तटमा पुगेर
म अन्नपूर्णासित मिल्न जाऊँ
नेपालकै आँगनमा रमाऊँ

कुला हजारौँ तर खेत यौटै
नसा करोडौँ तर चेत यौटै
सबै हियाभित्र म बस्न आऊँ
नेपालको आँगनमा रमाऊँ

अनेक तारामय व्योमलाई
विशालताका कविता सुनाई
आखिर तारा हुन तुल्बुलाऊँ
नेपालकै आँगनमा रमाऊँ ।