‘प्रमाणपत्रधारी अयोग्यता’ राष्ट्रको निमित्त घातक !

‘प्रमाणपत्रधारी अयोग्यता’ राष्ट्रको निमित्त घातक !


– स्वयम्भुनाथ कार्की

कवि शिरोमणि लेखनाथ पौड्यालले संस्कृतको मध्यमा परीक्षा पार गर्न सकेका थिएनन् । आदिकवि भानुभक्त पनि कुनै प्रमाणपत्रधारी होइनन् । कवि मात्र होइन अरू पनि क्षेत्रका लब्धप्रतिष्ठहरूमा धेरै यस्ता भेटिन्छन् जो प्रमाणपत्रधारी होइनन् । भए पनि जुन विधामा उनीहरूले प्रख्याति कमाएका छन् त्यो विधाकोे योग्यताको प्रमाणपत्र छैन । त्यस्तै विभिन्न विधाको शिक्षा दिएर, त्यसको परीक्षा लिएर प्रमाणपत्र दिन्छन् उनीहरूमध्ये कोहीकोही मात्र त्यो विधाको उपयोगले प्रख्यात हुन्छन् । त्यसैले प्रमाणपत्रले केवल सैद्धान्तिक ज्ञान छ भन्ने जनाउँछ त्यसको व्यावहारिक उपयोग गर्न सक्छ भनेर भन्दैन ।

करिब तीन दशक पहिलेसम्म स्नातक प्रमाणपत्रधारी कम हुन्थे । अझ १०५ रापस भएको राष्ट्रिय पञ्चायतमा ४ देशभरिका स्नातकले चुनेर आएका स्नातक नै हुन्थे । धेरैजनाले आफ्नो नामको पछाडि बीए, एमए आदि सगर्व राख्थे । यो नेपालको मात्र चलन थिएन, भारतलगायत विश्वभरि नै थियो । स्कलर अर्थात् शिक्षित शब्दले नै समाजमा मान्यता प्राप्त गर्ने समयमा पनि सबै शिक्षित व्यावहारिक जीवनमा सफल थिएनन् । बरु औपचारिक शिक्षाभन्दा व्यावहारिक ज्ञान पाएकाहरूले काममा गुणवेत्तता र परिणाम दिएका छन र दिँदै पनि छन् ।

यो शिक्षाको प्रमाणपत्रलाई अमान्य गर्न गरिएको तर्क होइन । तर, प्रमाणपत्रलाई अति महत्व दिँदा समाजले दक्षता, योग्यता आदिको बलि चढाएको कुरा उजागर गर्न खोजेको हो । प्रमाणपत्रलाई नै एक मात्र योग्यताको कसी मान्दा त्यो प्राप्त गर्न गरिने प्रयत्न दूषित भएको छ । नयाँ पुस्तामा एकपटक जसरी भए पनि प्रमाणपत्र हात पारौँ, त्यसपछि जीवनभरको सुख भन्ने सोच पलाएको छ । आफूले काम गरे पनि नगरे पनि केवल आफ्नो प्रमाणपत्र उल्लेख गरेर कमाइ हुने नौलो विकृति मौलाउँदै छ ।

यो कुनै हावाको भरमा भनिएको कुरा होइन, केही समय पहिले औषधि पसलहरूमा अनुगमनको वेला देखापरेको तथ्य हो । अझ राम्ररी छानबिन हुने हो भने एकै व्यक्तिको प्रमाणपत्र विभिन्न प्रतिष्ठानमा भेटिन सक्छन् । कागजी खानापुरीको निमित्त प्रमाणपत्र मात्र भाडामा लगाउने चलन मौलाउँदो छ । आज कैयौँ यस्ता पत्रकार छन् जो आफ्नो पत्रकारको प्रमाणपत्र केवल पत्रकार सङ्गठनहरूको चुनावमा मात्र प्रयोेग गर्दछन् । यस्ता वकिलहरूको पनि कमी छैन जसले वर्षौँ एक पनि मुद्दा लडेका छैनन् तर बारहरूको निर्वाचनमा प्रभावकारी भूमिका राख्छन् । सबै क्षेत्रमा यस्ता प्रमाणपत्रधारी पाइन्छन् धेरथोर जति होस् ।

प्रमाणपत्र नभएकाको हातबाट केही काम बिग्रेमा उसको खोइरो खनिन्छ, तर प्रमाणपत्र हुनेबित्तिकै उसले माफ पाउँछ । यो नै सम्पूर्ण विकृतिको मूल हो ।

प्रमाणपत्रले दबाई बिक्री गर्दैन, त्यसैले त्यो प्रमाणपत्रधारीको प्रमाणपत्रको हात भएर कसै न कसैले दबाई ग्राहकलाई बेच्दै छ । प्रमाणपत्रधारी र गैरप्रमाणपत्रधारीले दुवैले दबाई बेच्दा के–कति दुर्घटना भए भन्ने तथ्याङ्क लिने हो भने ज्यादा फरक पर्दैन । सामान्य अभिमुखीकरण तालिम, जो सरकारको दायित्व पनि हो औषधि बेच्न पर्याप्त हुन्छ । तर, फार्मेसीको प्रमाणपत्र मात्र भाडामा लगाउन पाउने परिस्थिति बनाइएको छ दबाई लेख्ने डाक्टरले पनि दबाई बेच्न पाउन्न भनेर ।

कैयौँ वकिलले वकालत नै नगरे पनि न्यायक्षेत्रमा कमी त नहुने रहेछ । त्यसो भए किन वकालत व्यवसाय गर्ने वकिलको सङ्गठनमा वकालत नगर्ने वकिलको रजगज हुन दिनु प्रमाणपत्रलाई ज्यादा मान्यता दिएर ? पत्रकारिता नै नगर्ने पत्रकार प्रमाणपत्रधारीलाई किन महत्व दिनु केवल चुनावको निमित्त ? जो प्रमाणपत्रबेगर नै उल्लेख्य काम गर्दै छन्, तिनीहरू र आफ्नो प्रमाणपत्र सञ्चारगृह खोल्न भाडामा दिने पत्रकारहरूमा को ज्यादा योग्य ? सम्पूर्ण डिजायन, निरीक्षण, सुपरीवेक्षण ओभरसियरले मिस्त्रीले गरेर केवल आफ्नो प्रमाणपत्र नम्बर मात्र राखेर दस्तखतको मोल लिने आर्टिटेक्ट इन्जिनियर खोज्न टाढा जानै पर्दैन ।

बरु अनुभवी मिस्त्रीलाई काम गर्न दिएको भए निर्माण सम्पन्न भइसक्नेबित्तिकै भाँचिएका, धसिएका पुल, भवन आदि संरचना देख्न पर्दैन थियो । किताबी ज्ञानलाई परीक्षाको समयमा रटेर उत्तीर्ण भएपछि ज्ञान नै प्रयोग गर्न नपर्ने अवस्थामा पुगिन्छ । प्रमाणपत्र नभएकाको हातबाट केही काम बिग्रेमा उसको खोइरो खनिन्छ, तर प्रमाणपत्र हुनेबित्तिकै उसले माफ पाउँछ । यो नै सम्पूर्ण विकृतिको मूल हो । हानि आखिर हानि हो जोबाट भए पनि सजायभागी हुनैपर्छ अर्थात् प्रमाणपत्र लिएर मात्र पुग्दैन त्यो ज्ञान हमेसा प्रयोगको कसीमा जाँचिन्छ भन्ने बोध गराउनैपर्छ । नत्र दुईमा दुई जोडेर दुई घटाउँदा कति हुन्छ भन्ने जान्न क्यालकुलेटर तान्ने पुस्ता हुन्छ । यो प्रमाणपत्रधारी अयोग्यता राष्ट्रको निमित्त नै हानिकारक हुन्छ ।