‘माधव-ओलीले एमाले सिध्याउनेछन्’ : योगेश भट्टराई

‘माधव-ओलीले एमाले सिध्याउनेछन्’ : योगेश भट्टराई


एमालेभित्रका ‘कमाण्डो’ तथा जुझारू युवा नेताका रूपमा चर्चित योगेश भटराईले एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले स्थापना गर्नुभएको सोच र सिद्धान्तहरूलाई मदन भण्डारीकै अनुयायी र उत्तराधिकारी हौँ भन्नेहरूले समाप्त गरेको विचार व्यक्त गर्नुभएको छ । हालसालै सम्पन्न एमालेको छैटौँ महाधिवेशनमा फरक मतको पक्षमा उभिएको कारणले थप्रै लाञ्छना र पीडाहरू व्यहोर्न बाध्य तुल्याइनुभएका भट्टराईले घटना र विचार साप्ताहिकसँग कुरा गर्दै भन्नुभयो, ‘माधव–ओलीको व्यवहारले त आज एमाले पनि कम्युनिस्ट पार्टी हो र भन्ने प्रश्न उठाएको छ, यसले पार्टीलाई विसर्जनको खाडलमा धकेलेको छ ।’ उहाँले अगाडि थप्नुभयो, ‘माधव नेपालले ठानेका होलान् कि आफू एमालेको नेतृत्व थेग्न सफल छु, त्यसो हो भने उनी ठूलो भ्रममा छन्, एमालेको अपार जनलहर अब उनको भ्रष्ट क्रियाकलाप टुलुटुलु हेरेर बस्न सक्दैन, स्वर्गीय मदन भण्डारीको यशले मात्र आजसम्म कार्यकर्ताहरू थामिएका हुन्, अब थामेर राख्न माधव–ओलीजस्ता व्यभिचारीहरूको वशको कुरा होइन ।’

० अनेरास्ववियुको सर्वोच्च नेतृत्वसमेत लिइसकेको तपाईंजस्तो एमालेको सिपाहीलाई नेतृत्व तहले पार्टीबाटै निकाल्ने निर्णय गऱ्यो, यसलाई कुन रूपमा लिनुभएको छ ?
– स्पष्टीकरण लिने, आत्मालोचना गर्ने अवसर दिने, त्यो भएन भने मात्रै कारबाही गर्नेतर्फ विचार गरिने भन्ने पाँचौँ महाधिवेशनले तय गरेको विधानमा स्पष्ट छ, तर प्रजातान्त्रिक परिपाटीलाई बेवास्ता गर्दै हठवादी तरिकाले जसरी हामीमाथि कारबाहीको घोषणा गरिएको छ त्यो अन्यायपूर्ण, हास्यास्पद किसिमको छ । कोही महाधिवेशन प्रतिनिधि उत्तजेजनामा आएर करायो भन्दैमा यसरी कारबाही गर्ने अधिकार महाधिवेशनलाई छैन ।

० तपाईंहरूमाथि यसरी पूर्वाग्रही भएर कारबाही चलाइनुमा माधव नेपाल र खड्गको ओलीको षड्यन्त्र छ कि छैन ?
– यो त प्रस्टै छ । रूपनारायणजी र ममाथि कारबाही हुनुको एकै मात्र कारण हामी फरकमतको पक्षमा उभिनु नै हो । महाधिवेशन हलभित्र बर्दीवाला र बिनाबर्दीका पुलिस तथा ‘कमाण्डो’हरू राखिएको थियो, त्यसो हुनुहुन्न भनेर हामीले विरोध गऱ्यौं किनकि गोपनीयताको हिसाबले पनि त्यो ठीक थिएन, हामीजस्ता पार्टी सदस्यहरूको ठूलो सङ्ख्या बाहिर छ, हामी नै आवश्यक परे सुरक्षाको प्रबन्ध मिलाउन सक्छौँ भन्यौँ हामीले, तर हाम्रा जायज कुराहरूमाथि ध्यान दिनु त परै रहोस्, उल्टै पुलिस लगाएर लाठीचार्ज गर्ने र पार्टीले खटाएका स्वयम्सेवकहरूमार्फत ढुङ्गामुढा गराउने दुस्कार्य गरियो ।

० तपाईंहरूजस्ता जुझारू युवाहरूमाथि त यस किसिमको व्यवहार गरियो भने अब पार्टीका अरू युवाहरू त त्रसित हुनुपऱ्यो कि परेन ?
– गल्ती गर्नेलाई त उचित किसिमको कारबाही हुन नै पर्छ । कसैमाथि कारबाही भयो भन्दैमा पार्टी नै खत्तम हुने भयो भनेर कार्यकर्ताहरू तर्सिनु उचित हुँदैन, तर कारबाही उचित हो होइन भन्नेबारेचाहिँ सबैले चासो राख्नैपर्छ भन्ने मेरो आशय हो । पार्टी चल्ने भनेको व्यवहारले भन्दा पनि सिद्धान्तले हो, एमालेजस्तो कम्युनिस्ट पार्टीको महाधिवेशनमा अमेरिकाप्रति जुन किसिमको नरम दृष्टिकोण देखाइयो, भारतीय प्रभुत्ववादप्रति घुँडा टेक्ने नीति पास गरियो, राष्ट्रियतालाई जुन किसिमले बेवास्ता गर्ने काम गरियो, एमालेमा वैचारिक विचलन देखापऱ्यो भनी अब किटान गरेर भन्न सकिने भयो । यसरी पार्टीभित्रको जनवादी ‘नम्र्स’ मारिने अधिनायकवादी प्रक्रियाले एमालेभित्र ठूलो निराशावाद र कुण्ठाले जन्म लिनेछ जो अत्यन्तै दुःखको कुरो हो ।

० तपाईंको मतलब मदन भण्डारीको ‘बहुदलीय जनवाद’को त माधव–ओलीले हत्या नै गरे, होइन ?
– हामीले भनेको के हो भने अहिले माधव र ओलीको गुटले जुन विचार अगाडि ल्याएको छ, यो सर्वथा बहुदलीय जनवादको विरुद्धमा छ, मदन भण्डारीले ल्याउनुभएको सोचको विपक्षमा छ । विश्वका कतिपय मुलुकमा कम्युनिस्ट पार्टी समाप्त भएर जानुमा पार्टीभित्रको ‘आन्तरिक जनवाद’ नष्ट भएर जानुले हो भनेर मदन भण्डारीले आफ्ना लेखोटहरूमा पनि उल्लेख गर्नुभएको छ, तर विडम्बना ! हाम्रो पार्टीमा त्यही दुर्दशा शुरु गरिएको छ, ०४६ सालपछि एमाले छिरेका ‘हनुमान’हरू आज के.के. मा पुऱ्याइएका छन्, कम्युनिस्ट आन्दोलनलाई निर्माण गर्न अथक प्रयत्न गर्ने थुप्रै नेताकार्यकर्ताहरूलाई आज पाखा लगाउने काम भएको छ । यसबाट एमालेको भविष्य के होला । स्वतः अनुमान गर्न सकिन्छ ।

० अब एमालेमा एकताको वातावरण देखिनु मुस्किल छ, होइन त ?
– एकता बनाउने वातावरण भनेको खासगरी बहुमत पक्षले हो, जहिले पनि जित्नेहरूले हार्नेहरूप्रति सहिष्णुता देखाउनुपर्ने हो । तर, एमाले महाधिवेशनमा के देखियो भने जित्नेहरू नै बढी असहिष्णु, निरङ्कुश र उद्दण्ड भएर आए । नेताहरूको यो पाराले गर्दा एमाले अब कसरी अगाडि बढ्ने भन्ने नै प्रश्न बनेर खडा भएको छ । आसन्न चुनावको सन्दर्भ गाँसेर भन्ने हो भने पनि विगतमा काङ्ग्रेसले भोगेको घात–अन्तर्घातको पीडा अब एमालेले भोग्नु नपर्ला भन्न सकिँदैन । एमाले अब जनताको नजरमा गिर्न पुगेकोे छ, पहिलेको उचाइ प्राप्त गर्न अब त्यति सजिलो छैन । महाधिवेशनका पीडक पक्षले अब विभिन्न बाटाहरू खोज्नुपर्ने भएको छ, एमालेको बहुमतवालाहरूका लागि भावी चुनाव सहज हुनेछैन ।

० तपाईंको विचारमा एमालेका सच्चा कम्युनिस्टहरू त यतिखेर वामवेद गौतमका पक्षमा छन् होइन त ?
– त्यो भन्न सकिन्छ । उहाँले उठाउनुभएको विचार यस्तो छ कि कम्युनिस्ट आन्दोलनले यसबाट निरन्तरता पाउन सक्छ । सच्चा कार्यकर्ताहरू वामदेव गौतमकै पक्षमा छन् भने अवसरवादीहरू, सत्तालोलुपहरू र लोभीपापीहरूचाहिँ माधव नेपालको पक्षमा उभिएका छन् । यसो भनेर बहुमतभित्र इमानदार कार्यकर्ताहरू पटक्कै छैनन् भन्ने आशयचाहिँ मेरो होइन । केही बाध्यताले आज उहाँहरू त्यता भए पनि अन्ततः फरक मत पक्षमा उभिन आउनुहुनेछ भन्ने विश्वास मेरो छ । झुटको खेतीको स्थायित्व रहन्न, अन्ततः इमानदार विचार नै टिक्नेछ ।

० वामदेवजस्ता प्रभावशाली तथा सशक्त नेतालाई पाखा लाएपछि एमालेले भोग्नुपर्ने परिणतिको कस्तो कल्पना गर्नुभएको छ ?
– यही स्थितिमा चुनावमा जाने हो भने त पार्टीको दुर्दशाको कल्पनै गर्न सकिन्न । स्वयम् माधव र ओलीले पनि चुनाव जित्ने आस पटक्कै नगरे हुन्छ । हामीजस्ता कार्यकर्तालाई तथानाम गाली–बेइज्जती प्रदान गर्ने माधव–ओलीहरूले पुनः झन्डा हल्लाएर सिंहदरबार छिर्ने सपना देख्ने हो भने हामीमाथि प्रहार गरिएको निन्दाका भाषाहरू आत्मालोचनाका साथ फिर्ता लिनुपर्छ ।

० वामदेव गौतमले त अब पार्टी फुटाउनेतर्फ पहल गर्नुहुन्छ होला कि कसो ?
– बाहिरबाट हेर्दा वामदेव गौतम जति आक्रामकजस्तो लाग्नुहुन्छ, स्वभावतः उहाँ उत्तिकै भद्र, भलाद्मी र नरम दिलका हुनुहुन्छ भन्ने त हालैका घटनाहरूबाट पनि प्रस्ट हुन्छ । पार्टीभित्र उहाँ नै सबैभन्दा प्रजातान्त्रिक हुनुहुन्छ भन्ने कुरा पनि विभिन्न अन्तरक्रियाहरूले देखाइसकेको छ । भोलि त्यो स्थिति (पार्टी फुट्ने) मा पुग्नुपऱ्यो भने पनि आफ्नो विचारको बारेमा व्यापक छलफल गरेर, राय लिएर, परिस्थिति आफ्नो अनुकूल बनाएर मात्र उहाँले निर्णय लिनुहुन्छ, हचुवा पारामा, जोसमा पार्टी फुटाउने निर्णय वामदेवले लिनुहुन्छ जस्तो त लाग्दैन मलाई ।

० माधव र ओलीमाथि ‘र’ र ‘सीआईए’को एजेन्ट भएको आरोप लागेको छ, तपाईं के भन्नुहुन्छ ?
– प्रचार त्यही ढङ्गले भएको छ र उहाँहरूको व्यवहारले पनि कतिपय शङ्काहरू जन्माएका छन् । महाधिवेशन स्थलभित्र देखिएका कतिपय शङ्कास्पद व्यक्तिहरूका कारण पनि माधव–ओलीमाथि औँला उठाउन सकिन्छ । तथ्य बाहिर आएपछि मात्र तोकेर भन्न सकिन्छ । भूमिगत कालमै काठमाडौंमा घडेरी किन्ने यस्ता नेताहरूको बारेमा खोतल्दै जाने हो भने धेरै कुरा बाहिर आउन सक्छन् ।

(घटना र विचार साप्ताहिक, २२ माघ २०५४)