अमेरिकामा बाबुरामलाई सुनाइयो- ‘हत्यारा फिर्ता जाउ’

अमेरिकामा बाबुरामलाई सुनाइयो- ‘हत्यारा फिर्ता जाउ’


नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला सपत्नी अमेरिका यात्रामा छन् । यही भदौ २८ मा अमेरिका पुगेका बाबुराम जोडी आगामी असोज २२ सम्म अमेरिका रहने छन् ।

अमेरिका भ्रमणका क्रममा त्यहाँका विभिन्न राज्य पुग्ने र नेपाली समुदायबीच अन्तरक्रियामा सहभागिता जनाउने डा. भट्टराईको कार्यक्रम रहेको बुझिएको छ ।

तर, अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउने क्रमको शुरुमै टेक्सास पुग्ने क्रममा बाबुराम भट्टराईले अमिलो महसुस गर्नुपरेको छ । उनलाई डिसी मेट्रो एरियामा कालो झण्डा प्रदर्शन गरी विरोध जनाइएको छ ।

चार–पाँच युवा संलग्न प्रदर्शनकारी समूहले ‘हत्यारा फिर्ता जाउ’ भन्ने नारा लगाउँदै कालो झण्डा प्रदर्शन गरेका थिए । त्यसरी विरोध जनाइएको सुन्दा शुरुमा बाबुराम झस्किएका तर लगत्तै आफूलाई सम्हालेका बताइएको छ ।

तत्कालीन माओवादी युद्धको एक परिकल्पनाकार रहेको र सो युद्धमा हजारौँ नागरिकको मृत्यु भएको भन्दै अमेरिकामा रहँदै आएका प्रजातन्त्रवादी युवाहरूले डा. भट्टराईविरुद्ध प्रदर्शन गरेका प्रत्यक्षदर्शीले जनाएका छन् । तत्कालीन माओवादीका नेताहरूले नेपालीमाथि ठूलो अपराध गरेको प्रदर्शनकारी युवाहरूको आरोप छ ।