संसारको सूर्य र नेपालको सूर्य फरक हो ?

संसारको सूर्य र नेपालको सूर्य फरक हो ?


हामीकहाँ वि.सं १९४१ देखि पञ्चाङ्ग प्रकाशित हुन थालेको देखिन्छ । त्यसबेलाका पात्राहरू तिथ्रि्रधान थिए । तिथिका आधारमा संस्कारपद्धति चल्ने र तारिखका आधारमा तनखा दिने प्रचलन हुँदा १ वर्षमा ११ दिन फरक पर्न थाल्यो । अनि हरेक ३ वर्षमा एक महिनाको तलब बढी दिनुपर्ने भयो । तर्सथ वि.सं. १९६१ देखि चन्द्रशमशेरले गतेका आधारमा पात्राहरू बनाउन लगाएको देखिन्छ । त्यसका लागि पञ्चाङ्ग निर्णायक समिति बनाइएको र त्यसमा मूलपुरोहित पदेन अध्यक्ष रहने व्यवस्था भयो । त्यो परम्परा आजतक पनि कायम रहिरहेको छ । पहिलेका पात्रहरूमा तिथ्यादिहरू रमापतिले बनाएको सिद्धान्त सारिणीको तालिका र ग्रहगणनाचाहिँ वि.सं. १६४७ मा रामदासले बनाएको रामविनोदको तालिकाका आधारमा तयार गरिन्थ्यो । विद्वान् श्री नयराज पन्तका अनुसार रामविनोद नै धेरै थरीका भएको र तिनका तालिकाका अङ्कहरू र पाठभेद फरक भएकाले कुनचाहिँ रामविनोद ठीक हो भन्ने आजतक निश्चित गरिएको छैन । आजसम्म सत्रौँ शताब्दीमा बनाइएको रामविनोदका आधारमा पात्राहरू बनेकाले तथा तिनमा शुद्धि संस्कार नगरिएकाले विश्वका गणना पद्धतिसित नेपाली पात्रहरूको गणना मिलेको देखिँदैन । वि.सं. २०६६ को माघ १ गते बिहान ११।४९ बजे औँसी सकियो र १२।२४ बजे सूर्यग्रहण लाग्यो । मेरो गणनामाचाहिँ दिउँसो १।१७ बजे मात्र औँसी सकिन्छ । यसप्रकार पञ्चाङ्ग निर्णायक समितिको ग्रहगणना मिलेन । किनकि ग्रहण औँसी या पूर्णिमाभित्रै पर्नुपर्छ । यस्तो गलत गणनाका कारण मलाई ज्योतिषमा काम गर्न अप्ठ्यारो परेकाले गत वर्षदेखि आफै पात्रो बनाउन बाध्य भएँ ।
संसारका कुनै पनि पात्राहरूमा ३२ दिनका महिना हुँदैनन् । हामीकहाँ भने मुहूर्त चिन्तामणि नामक ग्रन्थका आधारमा सङ्क्रान्ति राख्नुपर्दा साउन ३२ र माघ २९ दिनका भएका हुन् । २ सङ्क्रान्तिको कुुल दिन ६३ दिन ८ घन्टा मात्र हुनुपर्नेमा समितिले २०६४ को असार र साउन ३२।३२ दिनका तथा २०६८ का असार र साउन ३२।३२ दिनका बनाएर आधुनिक गणित सिद्धान्तलाई पनि गिज्याएको देखिन्छ । भारतीय पात्राहरूमा २०६८ को असार ३२ र साउन ३१ दिनका हुँदा भदौ १ गते बुधबार बिहान १०।२९ बजे भाद्र सङ्क्रान्ति छ भने समितिका पात्राहरूमा बिहीबार बिहान २।१९ बजे मात्र भदौ सङ्क्रान्ति छ । मैले प्रकाशित गरेको आधुनिक दृक्पञ्चाङ्ग २०६८ मा पनि भदौ १ गते बुधबार छ । समितिले स्वीकृत दिएका पात्राहरूमा मेषार्क सिंहलग्नमा छ, तर नेपाल, भारत, बंगलादेश र थाइल्यान्डसम्म मेषार्क कर्कलग्नमा छ । जापान, हङकङ र वर्मामा भने सिंहलग्न छ । यर्सथ समितिका पदाधिकारीहरू विश्वका पात्राहरूबारे सामान्य अध्ययनसमेत गर्दैनन् भन्ने यसबाट पुष्टि हुन्छ । कम्प्युटरको जमानामा पनि १४ गते प्र.मं. खनाललाई पनि ज्ञापनपत्र पठाएको थिएँ । तर, आज तक कुनै कारबाहीसम्म भएन । जब कि मेरो पत्रमा नाष्टको रोहवरमा गणना गराइपाऊँ भन्ने थियो । यसप्रकार यो वर्ष पनि अशुद्ध पात्राहरूका आधारमा नै पर्व संस्कृतिहरू सम्पन्न हुने भए । यस्तो गल्तीका विरुद्ध कोही ब्राह्मण जागरुक भएको देखिएन । गणितज्ञ हुँ भन्नेहरू पनि मौन रहे ।
संसारको सूर्य र नेपालको सूर्य फरक हो र ? कि नेपालमाचाहिँ एक राशि हिँड्न उसलाई ३२ दिनै लाग्छ ? विश्वका सबै देशमा पञ्चाङ्गको गणना गरिन्छ, अझ आधुनिक प्रणालीबाट, तर नेपाल सरकारसित दूरवीक्षणसमेत नरहेको यसबाट प्रमाणित हुन्छ । त्यसमा पनि गणितज्ञको समितिमा उपस्थिति नहुनु लाजमर्दो विषय भएको छ । सत्रौँ शताब्दीमा बनाएको तालिकाका आधारमा ढाँटेर तलब खानु र तलब खुवाइरहनु कति लाजमर्दो कुरा होला । गएको चैत ४ गते मैले संस्कृति मन्त्रालयमा शुद्ध पञ्चाङ्ग गणना गराइयोस् भनी निवेदन दिएको थिएँ र चैत एक्काइसौँ शताब्दीमा कर्मकाण्ड चलाइरहनु नेपाली निरीह पण्डित प्राणीहरूको बाध्यता हो कि स्वीकारोक्ति ! आर्श्चर्यको विषय भएको छ । यस्तो अशुद्ध पात्राका आधारमा गरिएका यावत् कर्महरूबाट पितृ उद्धार हुन्छ भन्ने मान्यता पण्डितजीहरूमा रहे-भएको भए पक्कै पनि पितृहरूले आशीर्वाद होइन, श्रापचाहिँ दिनेछन् भन्ने मलाई लाग्छ । बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत ! भन्ने लेखनाथको कविताले कहिलेसम्म ठाउँ पाइरहने हो ? र, यस्तो ठूलाबडाको गल्ती पनि ठीक ठहरिने अन्धविश्वासको अन्त्य कहिले हुने हो ? समय पर्खाइमा छ ।
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
महाकवि देवकोटा आश्रम, काठमाडौं

धनपिपाशुको मुठ्ठीमा उपभोक्ताको ज्यान
‘नातामा भाञ्जीज्वाइँ परे, यिनलाई आर्थिक रूपमा उकास्नुपर्‍यो,’ चितवनतिरका धर्म बर्तौला नामक व्यवसायीले यस्तै सोचे र शिव घिमिरे नामका सामान्य एक व्यक्तिलाई २ लाख रुपैयाँको चाँजोपाँजो मिलाइदिएर पेट्रोलियम पदार्थको व्यवसायमा प्रवेश गराए । तर, घिमिरेको आर्थिक अवस्थाप्रति टिठाएर त्यसरी सहयोग गर्ने बर्तौला आज स्वयम् उनको ‘आर्थिक प्रगति’ देखेर छक्क परेका छन् । पेट्रोलियम व्यवसायी सङ्घको अध्यक्ष रहँदा सो पद भजाएर प्रशस्तै आर्जन गरेका भनी आरोपित शिव घिमिरेले हजारबाट लाख, लाखबाट करोड र करोडबाट अर्बपति हुने महत्त्वाकाङ्क्षाकै कारण अवैध या २ नम्बर काममा हात हालेका रहेछन् । झुम्कामा कत्था मिल, खनारमा पेट्रोलियम टे्रड लिङ्स आदि कम्पनीहरू सञ्चालन गरेका घिमिरेले केही समयअघि मात्र धादिङको खानीखोलामा सुगम ग्यास उद्योग सुरु गरेका थिए । ‘प्रगति होस् त शिवको जस्तो’ भन्थे उनको ससुरालीसमेत रहेको खानीखोलातिरका मानिसहरू । तर, घिमिरेको प्रगतिको मुहानको भण्डाफोर भएको छ जब अन्य कम्पनीका ग्यास सिलिन्डर कब्जा गर्दै सिलिन्डरको पिँध काटेर आफ्ना कम्पनीको फुटरिङ राख्ने गरेको कालो कर्तुतको रहस्य खुल्यो । उनको यो कर्तुत अवैधानिक मात्र नभई अत्यन्त खतरनाक पनि छ । सुगम ग्यास प्रयोग गर्ने हरेक उपभोक्ताले चुलोमा ऊर्जा होइन आफ्नै मृत्युलाई निम्त्याइरहेका थिए । त्यसरी काटेर जोडजाम गरेको सिलिन्डर जतिबेला पनि पड्केर ठूलो दुर्घटना निम्तिने सम्भावना रहने विज्ञहरूको कथन छ । यसरी अबौर्ंको मालिक बन्ने घिमिरेको प्यासका कारण हजारौँ नागरिकको ज्यान जोखिममा परेको रहेछ । यस्तो अमानवीय धनपिपाशुहरूलाई राज्यले कसरी कारबाही गर्दोरहेछ, गम्भीर चासो र प्रतीक्षाको विषय बनेको छ ।-राजकुमार मगर, धादिङ