वलिउड सुपरस्टार गोविन्दा किन आए काठमाडौं ?

वलिउड सुपरस्टार गोविन्दा किन आए काठमाडौं ?


बलिउड अभिनेता गोविन्दा आहुजा यतिबेला काठमाडौंमा छन् । छोरी टिना अहुजासँगै उनी हिजो (शनिबार) काठमाडौं आएका हुन् ।

नेपाली चेली सुनिता राणासँग बिहे गरेका गोविन्दा समय–समयमा तीर्थाटन र घुमघामको बहानामा नेपाल आउने गरेका छन् । तर, उनको यसपटकको नेपाल भ्रमण भने एलजी कामना सिने अवार्डका लागि हो । राष्ट्रिय सभागृहमा आज (आइतबार) साँझ आयोजना गरिउको अवार्ड कार्यक्रममा गोविन्दा सहभागी भइरहेका छन् ।

अवार्ड कार्यक्रममा ०७४ सालको वैशाखदेखि चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली फिल्म समेटिएका छन् । २३ विधामा अवार्ड प्रदान गरिने सो कार्यक्रममा लाइफटाइम अचिभमेन्ट पनि समेटिनेछ । अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकिएको थियो ।

नेपाल आएको यसै मौकामा यसपटक पनि उनले छोरी टिनासँगै केही धार्मिक पर्यटन स्थलको भ्रमण गर्ने भएका छन् ।

बलिउडका डान्सिङ मास्टर गोविन्दाले नेपाल आफूलाई मनपर्ने ठाउँ भएको प्रतिक्रिया दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै आफ्नो अभिनय जीवनमा एकफटक नेपाली फिल्ममा अभिनय गर्ने घोषणा गरेका छन् ।

अवार्डका लागि ‘छक्का पञ्जा २’, ‘पञ्चायत’, ‘शत्रुगते’, ‘लिलिबिली’, ‘भुइँमान्छे’, ‘मंगलम’ र ‘तिमीसँग’ ‘बेस्ट फिल्म अफ द इयर’ विधामा मनोनीत भएका छन् ।

त्यस्तै सर्वोत्कृष्ट निर्देशकको विधामा नवराज बुढाथोकी (भुइँमान्छे), दीपाश्री निरौला (छक्का पञ्जा २), प्रदीप भट्टराई (शत्रु गते), मिलन चाम्स (लिलिबिली), नवल नेपाल (मंगलम), शिवम् अधिकारी (पञ्चायत) र शिशिर राणा (तिमीसँग)बाट मनोनयनमा परेका छन् ।

उत्कृष्ट अभिनेताको विधामा सात मनोनयन सार्वजनिक गरिएको छ । सरोज खनाल (पञ्चायत), राज कटुवाल (लाल्टिन), दयाहाङ राई (त्यान्द्रो), अनमोल केसी (कृ), प्रदीप खड्का (लिलिबिली), नाजिर हुसेन (तिमीसँग) र पुष्पल खड्का (मंगलम) बाट ‘द बेस्ट एक्टर’ (मेल) मनोनीत भएका छन् ।

उत्कृष्ट अभिनेत्रीतर्फ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तीन फिल्मबाट मनोनीत भएकी छिन् । उनी ’मंगलम’, ‘तिमीसँग’ र ‘ए मेरो हजुर २’ बाट मनोनयनमा परेकी हुन् । यस्तै, नीता ढुंगाना (पञ्चायत), बेनिशा हमाल (ब्लाइन्ड रक्स), शिल्पा पोखरेल (मंगलम) र प्रियंका कार्की (छक्का पञ्जा २) बाट उत्कृष्ट पाँचमा छन् ।

यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष ‘राँको’, ‘करोडपति’, ‘सीमारेखा’, ‘घामछाया’, ‘एक नम्बरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ फिल्मका निर्देशक किशोर रानालाई नगद ५१ हजारसहित सम्मान गरिँदै छ ।