सबै उपसमूहको मूल्य वृद्धि, दोहोरो अंकले बढ्यो नेप्से

सबै उपसमूहको मूल्य वृद्धि, दोहोरो अंकले बढ्यो नेप्से


धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । यस साताको कारोबारको पहिलो दिन आज (आइतबार) सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ११.६९ अंकले वृद्धि भएर एक हजार २५६.५३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ बिन्दुले बढेर २६६.९३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक मात्रै नभई कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ । आज कुल १६६ कम्पनीको ३० लाख १६ हजार ४३९ कित्ता सेयर रु. ८९ करोड ७८ लाख ९६ हजार ५०८ मूल्यमा खरिद–बिक्री भएको छ ।

आज सबै उपसमूहको सेयरमा वृद्धि भएको छ । बैंकिङ १३.७१, होटेल ४.३५, विकास बैंक २०.८९, जलविद्युत ६.५४, फाइनान्स ३.११, निर्जीवन बिमा २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र जीवन बिमा ४८.५ बिन्दुले वृद्धि भएको छ ।