अण्डाको मूल्य बढेपछि किसानलाई राहत

अण्डाको मूल्य बढेपछि किसानलाई राहत


अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन ।

नेपाल अण्डा उत्पादक संघका अनुसार फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु. तीन सय तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु. २४० मा बिक्री हुन थालेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु. २६० र मध्यमको रु. १८० रहेको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । ‘उत्पादन लागत नोक्सानीमा थियो,’ उनले भने ।

किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु. नौ पर्छ । हालको मूल्यमा ठूलो अण्डाले लागत मूल्य धानेको छ भने मध्यम अण्डाले मूल्य धान्न नसकेको कँडेलले बताए । डेढ वर्षअघि अण्डाको मूल्य प्रतिक्रेट रु. ३६० सम्म पुगेको थियो । क्रमशः घट्दै आएर लागत मूल्य नधान्ने अवस्थामा पुगेको हो । संघका सचिव मदन पोखरेल बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताउँछन् । चाडपर्व शुरु हुनु, पर्यटकको आगमन बिस्तारै बढ्दै जानु, स्कुल र कलेज सञ्चालनमा आउनु, पहाडी भेगका सडकमा गाडी चल्न थाल्नुलगायतका कारण बजारमा अण्डाको माग बढेको उनको भनाइ छ ।

किसानले कम मूल्य पाए पनि बजारमूल्य भने अण्डाको प्रतिगोटा रु. १४ छ । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले अण्डाको उचित मूल्य पाउन नसकेका हुन् । नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । यस पेसाबाट प्रत्यक्ष रूपमा एक लाख ७५ हजार व्यक्तिले रोजगारी पाएका छन् । दुई हजारभन्दा बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्ट्री क्षेत्रमा रु. ७० अर्बभन्दा बढी लगानी रहेको छ । आधाभन्दा बढीमा बैंकिङ क्षेत्रको ऋण लगानी छ । बिचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।