अमेरिका र फिलिपिन्समा आँधीबाट ३९ को मृत्यु

अमेरिका र फिलिपिन्समा आँधीबाट ३९ को मृत्यु


फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
शक्तिशाली ‘मांखुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरूले आइतबार जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्यान्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सिस टोलेन्टिनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चारजना र इलोकोज क्षेत्रमा एकजनाको मृत्यु भएको जानकारी दिए । थप अरू केहीको पनि मृत्यु भएको हुन सक्ने उनको आशंका छ ।

मृत्यु भएकामध्ये बागुओ सहरका एउटै परिवारका ६ जना भएको बताइएको छ । उनीहरूको घर भत्किएर मृत्यु भएको समाचारमा जनाइएको छ ।

आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ । आँधीले रूखहरू उखेलेको, घरका छाना उडाएको, झ्यालहरू फुटाएको र लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ ।

आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाई यात्रामा रोक लगाइएको छ भने विद्यालय बन्द गरिएका छन् । यो आँधी हाल हङकङ र चीनको पूर्वी भेगमा प्रवेश गरेको छ ।

त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा फ्लोरेन्स नाम दिइएको वर्षासहितको आँधीका कारण आइतबारसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

आँधीले अमेरिकाको उत्तरी तथा दक्षिणी क्यारोलिनामा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।
हावाहुरीले थुपै रूखहरू ढालेको छ भने घरहरू भत्काएको छ । आँधीका कारण धेरै ठाउँ जलमग्न भएका कारण सञ्चार तथा विद्युत सेवा विच्छेद भएको छ ।

मृत्यु भएकामध्ये दुईजना आमा र बच्चासमेत रहेका छन् । उनीहरूलाई रूख ढलेर उनीहरूकै घरमा च्यापेको थियो । घरमा आगलागीसमेत भएको थियो । दक्षिण क्यारोलिनाको ह्याम्स्टेडमा एक महिलाको हृदयाघात भएर मृत्यु भएको छ । आँधी आएपछि हृदयाघात भएकी उनलाई घरबाट उद्धार गर्नसमेत कठिनाइ भएको बताइएको छ ।

स्थानीय हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित शिविरहरूमा लगिएको छ भने दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् ।

मौसम अधिकारीहरूले हावाको वेग ११० किलोमिटर प्रतिघन्टा रहेको बताएका छन् । उनीहरूका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भएको छ ।