क्रिकेटमा भाँडभैलो -श्रीविक्रम भण्डारी

क्रिकेटमा भाँडभैलो -श्रीविक्रम भण्डारी


राजनीतिक हस्तक्षेप र हिनामिनाको पराकाष्ठा
भर्खरै बामे सर्न लागेको नेपाली क्रिकेट अहिले विभिन्न कारणले धरापमा परेको छ । काम न काजका राजनीतिक रूपमा भर्ती भएका पदाधिकारीले खेलाडीहरूलाई उचाल्ने र पछार्ने कार्य गर्दा यस्तो स्थितिको सिर्जना भएको हो । राजनीतिक शक्तिको आडमा क्रिकेटको मूल्य र मान्यतालाई कुल्चँदै व्यक्तिवादी प्रवृत्तिको विकास गर्दा क्रिकेट पनि विवादमा तानिएको हो । केही समय पहिले पूर्वखेलाडीहरूले सर्वोच्चमा हालेको मुद्दालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ । क्रिकेटको विकासभन्दा व्यक्तिगत स्वार्थसिद्ध र आर्थिक हिनामिना गर्दै आएकाहरूले अहिले क्रिकेटको अस्तित्वलाई चौबाटोमा ल्याएर खडा गरिदिएका छन् । जुन नेपाली क्रिकेटका लागि दुर्भाग्यको कुरो बन्न पुगेको छ । कहिल्यै विवाद नपरेको सङ्घलाई विवादमा तानेर क्रिकेटको आवरणमाथि घिनौनो खेल खेलिरहेका ती व्यक्तिहरूले क्रिकेटलाई विवादमा धकेलेर कहाँ लान खोजेका हुन् त्यो बुझ्न सकिएको छैन ।
क्रिकेटमा सधैं झुटको खेती गर्दै आफ्नो दुनो सोझ्याउँदै आएका महासचिव टंक पनेरूको कर्तुतले नै क्रिकेट विवादमा होमिएको स्रोतले बताएको छ । जीवनमै कहिल्यै क्रिकेट नखेलेका र ब्याट र बलको समेत ज्ञान नभएका पनेरूलाई तत्कालीन सदस्यसचिव जीवनराम श्रेष्ठले एमाले कार्यकर्ता भएकै नाताले सङ्घको पदाधिकारीमा नियुक्ति गरेका थिए । ठूला-ठूला गफ गरेर आकाश-पाताल एक गर्ने क्षमता आफूमा भएको दाबी गर्ने महासचिव पनेरूले अहिलेसम्म क्रिकेटको विकासका लागि सिन्कोसमेत नभाँचेको कतैबाट छुपेको छैन । र, पनि, क्रिकेटमा नकचरोको भूमिका निभाइरहेका उनी मन्त्रीदेखि आईजीपी र सचिवसमेतलाई आफूले नियुक्ति दिलाएको भन्न छाडेका छैनन् । वास्तविक रूपमा भन्नुपर्दा एमाले पार्टीमा पनेरूको कुनै छवि नभएको थाहा भएको छ । तर विडम्बना, अहिले उनी आफूलाई प्रधानमन्त्री झलनाथ खनालको दाहिने हात भएको भन्दै फूर्ति लगाउँदै हिँडिरहेको स्रोतले बताएको छ ।
अहिले आफूलाई क्रिकेटको विज्ञ र नामुद खेलाडीको रूपमा प्रस्तुत गर्दै आएका पनेरूको फूर्तिफार्ती देख्दा उनी क्रिकेटका महासचिव मात्र नभई मुलुककै प्रधानमन्त्रीजस्ता देखिएका छन् । क्रिकेटमा कामभन्दा कुरो बढी गर्ने र गफाडी पदाधिकारीका रूपमा चिनिएका पनेरूले यतिबेला क्रिकेटमा कसरी भाँडभैलो मच्चाउन सकिन्छ त्यसतर्फ उद्दत रहेको थाहा भएको छ । खनाल प्रधानमन्त्री भएपछि निकै चुरीफुरी बढाएका पनेरूले नेपाल क्रिकेट सङ्घका अध्यक्ष विनयराज पाण्डेलाईसमेत ठाडो चुनौती दिँदै अध्यक्षबाट विस्थापित गरिदिने धम्कीसमेत दिएको थाहा भएको छ । ‘जसको सिङ छैन उसैको नाम तिखे’ भनेझैं पनेरूले क्रिकेटमा देखाएको फुइँफाइँले अन्य पदाधिकारीलाई समेत असहज वातावरणको सिर्जना गराइदिएको छ । लाजै पचाएर मपाइँको व्यवहारमा उत्रिएका पनेरूलाई अब कस्तो औषधिको उपचार गर्नुपर्ने हो त्यो एमालेले सोच्नुपर्ने बेला भइसकेको छ । पार्टी र प्रधानमन्त्रीको नाम बेचेर अनर्गल कुरा गर्दै आएका पनेरूजस्ता खलनायकलाई एमालेले समयमै कारबाही गर्न सकेन भने त्यो पार्टीका लागि समेत हानिकारक हुने स्वयम् खेलकुद महासङ्घका एक पदाधिकारीले बताएका छन् ।
त्यस्तै क्रिकेटमा अर्का खलनायकको रूपमा अमिर अख्तर -पूर्वखेलाडी) पनि देखिएका छन् । उनले क्रिकेटमा फुट ल्याउन खेलाडीहरूलाई धर्मसँग जोड्दै हिँडेको थाहा भएको छ । वर्तमान अवस्थामा सांग्रिला एकेडेमी चलाएर मुलुकका लागि होनहार क्रिकेट खेलाडी उत्पादन गर्दै आएको अख्तरले धाक लगाएका छन् । अख्तरको एकेडेमीको बारेमा सत्यतथ्य बुझ्दा उनको एकेडेमी कागतमै सीमित रहेको पाइएको छ । अख्तरले धाक लगाउँदै र भ्रम फैलाउँदै आएको एकेडेमीको कुनै नामोनिसाना देखिएको छैन । यहाँ खेलाडी उत्पादनको कुरा गर्नुभन्दा नगर्नु नै बेस होला । किनकि उनको यथार्थ नाम मात्रको एकेडेमीले प्रस्ट पारिसकेको छ । यसरी खेलाडी हुँदा तराई र पहाडी भनी क्रिकेटमा दरार हाल्न खोजेका अख्तरले अहिले पनि खेलाडीहरूलाई धर्मसँग जोडेर अर्को बखेडा खडा गरेको स्रोतले बताएको छ । जहिले पनि क्रिकेटमा भाँडभैलो मन्त्र मच्चाउँदै आएका अख्तरले तराईका खेलाडीहरू छनोटमा नपरे मधिसे मन्त्रीहरूबाट सङ्घका पदाधिकारीहरूलाई फोन गर्न लगाएर खेलाडी राख्न दबाब दिने पनि स्रोतले बताएको छ । यसरी एक व्यक्तिविशेषको चाहना र राजनीतिक दबाबले गर्दा थुप्रैपटक सङ्घले आफ्नो निर्णयमा परिवर्तन गर्नुपरेको पनि थाहा भएको छ । जसले गर्दा प्रतिभाशाली खेलाडीहरूमा नकारात्मक असर परेको त्यसै अनुमान लगाउन सकिन्छ । यसरी क्रिकेटको भन्दा जातीय विकासमा लागेका अख्तरले भविष्यमा यस्ता घिनौना खेल कति खेल्ने हुन् त्यो क्यानका लागि टाउको दु:खाइ बनेको छ । खेलाडीको न धर्म हुन्छ न जात उनीहरू मुलुकको मान, सम्मान र प्रतिष्ठाका लागि खेल्ने भएकाले यस्तो विवाद उठाएर क्रिकेटलाई विवादमा धकेल्नु कति उचित हो त्यो चिन्ताको विषय बनेको छ ।
वर्तमान अवस्थामा क्यानभित्र गोप्य रूपमा ठूलो खेल भइरहेको सूत्रले दाबी गरेको छ । वर्तमान अध्यक्ष पाण्डेलाई हटाउन र तारणीविक्रम शाहलाई अध्यक्षमा ल्याउन क्यानकै सदस्यहरू लागिपरेको बुझिएको छ । यसमा क्यानका सदस्य ठाकुर शाहले महत्त्वपूर्ण भूमिका निभाइरहेको स्रोतले बताएको छ । शाहले पाण्डेका विरोधीहरूलाई आफ्नो पक्षमा समेट्दै आएको र नयाँ रणनीति बनाइरहेको खुलासा भएको छ । उपयुक्त समयमा अध्यक्ष पाण्डे र उनका सहयोगीलाई क्यानबाट लखेट्न थुप्रै पदाधिकारी र खेलाडीले बारम्बार गोलमेच सम्मेलन गरी एउटै निष्कर्ष निकालेको पनि थाहा भएको छ । १६ जनाको क्रिकेटको कार्यसमिति २६ जनाको पुग्दासमेत चुप लागेर बस्ने यी सदस्यहरूले भोलि पाण्डेलाई कसरी हटाउलान् त्यो हेर्न लायक भएको छ । राजनीतिक हस्तक्षेपका कारणले जम्बो बन्दै गएको क्रिकेटको कार्यसमितिलाई रोक्नुभन्दा आफ्नै अध्यक्षका विरुद्धमा षड्यन्त्रका खाका तयार गर्नुलाई अन्य पदाधिकारीहरूले अर्थपूर्ण तरिकाले हेरेका छन् ।
अहिले पनि क्यानका कार्यकारी सदस्यहरूको नाममा ७० देखि ८० लाख बेरुजु रहेको थाहा भएको छ । सूत्रका अनुसार किरण राणा, शशि सुवेदी, श्रीनिवास राणा र ठाकुर थापाका नाममा थुप्रै रकम बेरुजु रहेको बुझिएको छ । रोलर काण्डदेखि बढ्दै गएको बेरुजुको रकम यति धेरै हुँदासमेत ती पदाधिकारीहरूले हिसाब मिलान गर्नेपट्टि कुनै चासो देखाएका छैनन् । वास्तविकता के हो ? यसको बारेमा जानकारी प्राप्त गर्न यो पङ्क्तिकारले क्यानका पदाधिकारीहरूसँग सर्म्पर्क गर्दा उनीहरूले सबै कुरा नहेरी बोल्न नमिल्ने बताए । उनीहरूले बेरुजु रहेको खुलासा गरे पनि कुन पदाधिकारीको नाममा कति रकम छ, त्यसको बारेमा केही थाहा नभएको बताए । स्रोतका अनुसार क्यानका पदाधिकारीका नाममा लाखौँ रकम बेरुजु रहेको कुरा प्रस्ट भए पनि क्यानले यसबारेमा कुनै टिप्पणी नगर्नु रहस्यमय बनेको छ ।

सगरमाथा टेलिभिजनले बाजी मार्‍यो
गोरखापत्र संस्थानको १११औँ वार्षिकोत्सवको अवसरमा भएको अन्तरसञ्चारमाध्यमस्तरीय मिडिया कप ‘टग अफ वार’ प्रतियोगितामा सगरमाथा टेलिभिजनले उपाधि हात पारेको छ । नेपाल प्रेस युनियन, गोरखापत्र शाखाद्वारा आयोजित तथा नेपाल टग अफ वार सङ्घको प्राविधिक सहयोगमा भएको एकदिने टग अफ वार प्रतियोगिताको वेस्ट अफ थ्रीको फाइनलमा सगरमाथाले नयाँ पत्रिकालाई २-१ ले पराजित गरेको थियो । पहिलो चरणमा कामना प्रकाशन र क्वाटरफाइनलमा गोरखापत्रको बी टिमलाई सजिलै हराएको गोरखापत्रको ए टिमले सेमिफाइनलमा सगरमाथालाई हराउन सकेन । फाइनलसम्म पुग्ने क्रममा सगरमाथाले गोरखापत्र ए लाई हराउनुअघि आर्थिक दैनिकलाई पनि पराजित गरेको थियो । प्रतियोगितामा दस टिम सहभागी थिए । उपाधि विजेता सगरमाथाको टिमलाई गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष हरिगोविन्द लुइँटेलले सिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । उपाधि विजेता टिमले पाँच हजार र उपविजेता नयाँ पत्रिकालाई तीन हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।
यसैगरी, नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले राजनीतिज्ञले खेलकुदबाट शिक्षा लिनुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, ‘खेलकुदले शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनेबाहेक नियममा बँँध्ने र हारलाई पनि आत्मसात् गर्न सिकाउँछ, जसको अभाव नेपाली राजनीतिमा रहेको छ, नेपाली राजनीतिज्ञहरू हारेर पनि जितेको भन्छन् तर यहँँ त हारेका खेलाडीहरू जितेकासँग मिलेर बसेका छन् ।’ स्थानीय टुँडिखेलमा आयोजना भएको प्रतियोगितामा गोरखापत्रका दुई टिम, विजेता सगरमाथा र उपविजेता नयँँ पत्रिकाबाहेक कामना प्रकाशन -समाचारपत्र), आर्थिक दैनिक, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र हिमालय टीभीले भाग लिएका थिए ।

जुडो च्याम्पियनसिप पाकिस्तानमा
पाकिस्तानको इस्लामावादमा यही मे ९ देखि १४ सम्म दक्षिण एसियाली जुडो च्याम्पियासिप हुँदै छ । उक्त च्याम्पियनसिपमा १७ जना नेपाली खेलाडीले सहभागिता जनाएका छन् । दक्षिण एसियाली जुडो सङ्घको सहयोग तथा पाकिस्तान जुडो सङ्घको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट सहभागी जनाउने महिला खेलाडीमा ४८ केजी तौल समूहमुनि राधादेवी राई, ५२ केजीमुनि सुशीला अधिकारी, ५७ केजीमुनि प्रमिला खड्का, ६३ तौलमुनि फुपुलामु खत्री र ७० केजी तौल समूहमुनि इन्दिरा राईले सहभागिता जनाउने भएका छन् ।
त्यसैगरी पुरुषको ६० केजी तौल समूहमुनिमा सरोज महर्जन, ६६ केजीमुनि रमेशमगर, ७३ केजीमुनि राजबहादुर चन्द, ८१ केजी तौलमुनि दीपककृष्ण श्रेष्ठ, ९० केजीमुनि शिवराम, १०० केजीमुनि एलेन महर्जन र १०० केजी तौल समूहभन्दा माथि राजन जोशीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडी टोलीलाई युवा तथा खेलकुदमन्त्री हितमान तामाङले बिदाइ गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री तामाङले खेलकुद क्षेत्रलाई आफूले मर्यादित र व्यावसायिक बनाउने बताउनुभएको थियो ।

विश्व एथलेटिक्स र एसियन एथलेटिक्स
यही जुलाई ७ देखि १० सम्म जापानमा हुने एसियन एथलेटिक्स प्रतियोगिता र अगस्ट २७ देखि सेप्टेम्बर ४ सम्म कोरियाको देगु सहरमा हुने विश्व एथलेटिक्स प्रतियोगिताका लागि नेपाल एमेच्योर एथलेटिक्सले जेठ १० देखि १२ गतेसम्म राष्ट्रिय खुल्ला छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता दशरथ रंगशालाका ट्याक एन्ड फिल्डमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष इभेन्टतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ५ हजार र १० हजार मिटर दौड रहेको छ भने १ सय १० मिटर हर्डल्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिन थ्रो, डिसकस थ्रो र ह्याम्बर थ्रो रहेका छन् । महिलातर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय, ५ हजार र १० हजार मिटर दौड रहेको छ भने १ सय मिटर हर्डल्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, ज्याभलिन थ्रो र डिसकस थ्रो रहेका छन् । आयोजकले प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूलाई सम्बन्धित निकायमा सर्म्पर्क गर्नसमेत अनुरोध गरेको छ । उत्कृष्टताको आधारमा प्रतियोगितामा पठाइने पनि आयोजनकले जनाएको छ ।

घाटबेसी युवा क्लबलाई उपाधि
घाटबेसी युवा क्लबले दोस्रो जिल्लास्तरीय रेडवुल एन्फा लिग प्रतियोगिताको उपाधि हात पारेको छ । धादिङ जिल्ला फुटबल सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा घाटबेसी युवा क्लबले धुनीबेसी युवा क्लबलाई सडेनडेथमा रोमाञ्चक नतिजा निकाल्दै ६-५ गोलअन्तरले पराजित गर्‍यो । निर्धारित ७० मिनेटको समय गोलरहित भयो । थप १५ मिनेटको समय पनि कुनै गोल नभएपछि खेल टाइबे्रकर्रतर्फ लम्केको थियो । विजय टिम घाटबेसी युवा क्लबका सुजन कुँवर, विनोद तामाङ, भुवन श्रेष्ठ, रवि भण्डारी र गोपाल भण्डारीको प्रहार गोलमा परिणत भएको थियो । पराजित टिमका डेनियल श्रेष्ठ, प्रकाश श्रेष्ठ, राम कुँवर, दीपक लामा र सन्तोष रेग्मीले पनि गोल गर्न सफल भएका थिए । टाइबे्रकर पनि ५-५ को बराबरीमा सकिएपछि खेल सडेनडेथमा लम्कियो । विजय टिमका रवीन्द्र श्रेष्ठको गोल निर्णायक सावित भयो भने धुनीबेसीका वीरेन्द्र तामाङ गोल गर्नबाट चुके । तामाङको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो । वैशाख ६ देखि सुरु भएको प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले नगद १० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । दोस्रो भएको टोलीले नगद रुपैयाँ पाँच हजार पायो । प्रतियोगिताबाट छनोट भएका खेलाडीको टोलीले क्षेत्रीय प्रतियोगितामा धादिङको प्रतिनिधित्व गर्नेछ ।