अष्ट्रेलियन नागरिकसँग विवाह गर्दै भुवन केसीकी पूर्वपत्नी सुस्मिता

अष्ट्रेलियन नागरिकसँग विवाह गर्दै भुवन केसीकी पूर्वपत्नी सुस्मिता


– राजन घिमिरे, अष्ट्रेलिया

नेपाली सिनेमाकी अभिनेत्री एवम् निर्मात्री सुष्मिता बम्जन अब चाँडै अष्ट्रेलियन नागरिक हुने भएकी छिन् । अभिनेता भुवन केसीसँग सम्बन्ध बिच्छेद गरेपछि आफ्नो नामको पछाडि आमाबुबा (माइती)कै थर राख्दै आएकी सुस्मिताले करोडपति, म तिमीबिना मरिहाल्छु लगायतका हिट चलचित्रमा काम गरिसकेकी छिन् ।

तीनपाते चियाको टेलिभिजन विज्ञापनबाट उनले अभिनय यात्रा शुरू गरेकी थिइन् । नेपाली सिनेमाका यतिबेलाका सुपरस्टार अनमोल केसीकी आमा सुस्मिताले ९ सेम्टेम्बरमा फिजीमा जन्मिएका दक्षिण भारतीय मुलुकका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिइन् । गत वर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ’ निर्माण गरेकी थिइन् । पारिवारिक सहमतिमै किलन स्वामीसँग इन्गेजमेन्ट गरेको बताउने अभिनेत्री सुस्मिताको विवाह चाहिँ आगामी वर्ष अर्थात् २०१९ को भ्यालेन्टाइन डे को अवसरमा फिजीमा हुने भएको छ ।

जानकारीमा आएअनुसार आमालाई अर्को विवाह गर्न नायक अनमोल केसीले सहमति दिएपछि घटनाक्रम अघि बढेको हो । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियामा ग्याससम्बन्धी व्यवसाय गर्छन् । सिंगापुरमा इन्गेजमेन्ट गरेर सुस्मिता यतिबेला नेपाल पुगेकी छिन् ।

‘दशैँ सकिएपछि फिजी जानेछु । फिजीमै हाम्रो विवाह सम्पन्न हुने छ । त्यसपछि हामी अष्ट्रेलिया आउने छौँ’, सुस्मिताले जानकारी दिइन् ।