अन्त्यमा ‘दीपेन्द्र-भक्त’ त्रिलोचन जले, घटना रहश्यमै

अन्त्यमा ‘दीपेन्द्र-भक्त’ त्रिलोचन जले, घटना रहश्यमै


युवराज दीपेन्द्रका अति मिल्ने साथीहरूमध्ये क्याप्टेन त्रिलोचन शाह एक थिए । नातामा प्रिया शाहकी सानिमाका छोरा त्रिलोचन क्याप्टेन मात्र भए पनि दीपेन्द्रसँगको मित्रताका कारण सेनाभित्र उनको निकै चकचकी थियो । सेनापतिसम्मका व्यक्ति पनि क्याप्टेन त्रिलोचनलाई खुसी पार्न चाहन्थे । त्रिलोचनको कामचाहिँ युवराज दीपेन्द्रको सेवा गर्नु, युवराजका लागि नसालु पदार्थ र मस्तीका अन्य सामग्री जुटाइदिनु तथा युवराजबाट आदेश भएपछि मान्छे कुट्नु थियो । त्यसैले शाही नातेदार तथा सेनाका उच्चअधिकारीहरू त्रिलोचन शाहसँग पनि दीपेन्द्रसँग जत्तिकै डराउँथे ।

दीपेन्द्रको निधनपश्चात् त्रिलोचनको फुर्तीफार्ती स्वात्तै झरेको थियो । मानिसले आफूलाई गर्ने व्यवहारमा परिवर्तन ल्याएको आभास उनलाई हुन थालेको थियो । ज्ञानेश्वर काठमाडौंस्थित सेतो हवेलीका नामले चिनिने आफ्नो दरबारमा बसेर एक साँझ उनी आफन्त र साथीहरूसँग खानपिन गर्दै थिए । त्यस दिन दीपेन्द्र मरेको ठीक एक वर्ष बितेको थियो । त्रिलोचनबाहेकले दीपेन्द्रको वार्षिकी परेको कुरालाई महत्व दिएका थिएनन् । हाँसको छोयला, रोस्टेड चिकेन, खसीको मासु र सिद्राको अचारसँगै केही शाकाहारी स्न्याक्सको साथमा सुरु भएको उक्त जमघटमा बियर, वाइन, भोड्का र ब्ल्याकलेवल ह्विस्कीले भोजको रौनक बढाएको थियो । एकजनाले सेनाकै एक जनरलको खिल्ली उडाउँदै गर्दा त्रिलोचनले भने, ‘हेर साथी हो, म दुईथरीका बारेमा सुन्न र कमेन्ट गर्न चाहन्नँ, एउटा आफूभन्दा माथिका हाकिमको र अर्को सुँगुरको । कुनै हाकिमको बुद्धि र चरित्र सुँगुरकै जस्तो छ भने त झन् कुरै भएन ।’

सबैजना गलल्ल हाँसे । र, आ–आफ्ना गिलासमा मदिरा थप्न थाले । त्रिलोचनले त्यस दिन मदिरामा रुचि लिएनन् बरु युवराज दीपेन्द्रलाई उनी घरि न घरि सम्झिरहेका थिए । भन्थे, ‘आज सरकारको स्वर्गारोहण भएको वर्ष दिन पुगेको छ । मलाई तिमीहरूसँग रमाइलोका निम्ति बसिरहँदा पनि ज्यादै नरमाइलो भइरहेको छ । किनकिन युवराजाधिराज सरकारको झझल्कोले सताइरहेको छ ।’

‘यो युवराज सरकारको प्रेममा पागल भएको छ यार, यसलाई हामी सबैले समवेदना दिऊँ’ भन्दै एकजनाले गिलास हातमा उठायो र भन्यो, ‘लौ त्रिलोचन तिमीलाई धेरै–धेरै समवेदना छ, यो जुनीमा नभए पनि अर्को जुनीमा तिम्रो युवराज सरकारसँग भेट होस् ।’

सबैले मदिराको चुस्की लिए । त्रिलोचनमा झनै गम्भीरता देखियो । उनका आँखा रसाए । ‘युवराज सरकारबिनाको यो देश मलाई धेरै नै बिरानो लागिरहेको छ साथी हो ।’

यति भनिसक्दा नसक्दै त्रिलोचनका गला अवरुद्ध भए । भुइँतिर हेर्दै सुँक्क-सुँक्क, हिक्क-हिक्क गर्न थाले उनी । भोजको रमाइलो माहौल एकछिनमा मृत्युशोकमा रूपान्तरित भयो । त्यसैबीच त्रिलोचनकी दिदी पर्ने एक महिलाको भोजनकक्षमा प्रवेश भयो । सन्नाटा देखेर उनले भनिन्, ‘के हो यहाँ मदिरासँगै मौनव्रत लिइएको छ कि के हो, चुपचाप र गम्भीर देख्छु ।’

‘त्यस्तो होइन दिदी यो त्रिलोचन आज अलिक ‘सेन्टी’ भएको छ । युवराज दीपेन्द्रको यादले उसलाई सताएको छ’ एकजनाले भने । त्यसमा थप्दै ती ‘दिदी’ले भनिन्, ‘हो नि बिचरा निकै ‘भर्सटाइल’ थिए, त्यस्तो गर्लान् जस्तो लाग्दै नलाग्ने, झन् आत्महत्या गर्ने खालका त हुँदै होइनन् जस्तो लाग्छ मलाई ।’

‘हो दिदी, युवराज सरकारले अरू जे-जे गरेका भए पनि आफूले आफैँलाई गोली हानेर मारेको कुरामा चाहिँ मेरो पनि विश्वास छैन । दीपेन्द्र सरकार जुनसुकै जोखिम उठाउन पनि तयार होइबक्सन्थ्यो । राजा बन्ने तर आफ्नो फादरजस्तो नभई ग्रान्डफादर (महेन्द्र) जस्तै राजा बन्ने कुरा पटकपटक मर्जी हुन्थ्यो । के त्यस्ता व्यक्तिले आत्महत्या गर्न सक्छन् ? म विश्वास गर्न सक्दिनँ । कसैले युवराज सरकारलाई सिध्याइदिएकै हो’ त्रिलोचनले भने ।

भोजको वातावरण असहज भएको महसुस गर्दै ‘दिदी’ले कुराको विषयलाई अन्यत्रै मोड्न चाहिन् । ढोरपाटनमा सिकार खेल्न जाँदा भएको एक घटना बताउन चाहिन् उनले । कुरा फेरिन लागेको मौका छोपेर एकजनाले भन्यो, ‘होइन दिदी यो सिकार गर्ने समय होइन, सिकार भोजन गर्ने समय हो ।’

फेरि सबैजना गलल्ल हाँसे । र, खानपान सुरु भयो । खानपिन गर्दागर्दैका त्रिलोचन अचानक उठे र ‘मलाई युवराज सरकारले बोलाइबक्स्यो’ भन्दै तल ओर्लिए । परिवारका सदस्यहरूले यो बहुलायो कि के हो भन्दै सोच्दै थिए । त्रिलोचन अचानक आफ्नै बगैँचामा रहेको ठूलो रूखको फेदमा देखिए । उनी आफ्नो शरीरमा मट्टीतेल खन्याउँदै थिए । परिवारका सदस्यहरू त्रिलोचन भएसम्म पुग्दा उनले आफ्नो शरीरमा आगो लगाइसकेका थिए । ‘मलाई युवराज सरकारले बोलाइबक्स्यो’ भन्दै त्रिलोचन शाह बगैँचाको ठूलो रूखलाई दुवै हातले अङ्गालो हालेर जलिरहेका थिए । उनलाई बचाउन गरिएका कुनै पनि प्रयास सफल हुन सकेनन् । दीपेन्द्रले बोलाए भन्दै एक युवकले यसरी आफैँलाई जलाएको घटना अहिलेसम्म रहस्यकै रूपमा रहेको छ । (समाप्त)

युवराज दीपेन्द्र नेपालको इतिहासका अत्यन्त रहस्यमयी पात्र हुन् भन्ने मेरो ठम्याइ छ । नेपालको शाहवंशीय राजपरिवारसँग मेरो कुलवंशको कहिल्यै कुनै सम्पर्क, सम्बन्ध र संवादको स्थिति थिएन । ०५८ मा वीरेन्द्रको वंशनाश भएपछि श्री ५ महाराजाधिराजका रूपमा ज्ञानेन्द्रको उदयपश्चात् सोही सालको भदौमा मेरो जीवनमा पहिलोपटक कुनै राजासँग साक्षात्कार हुने मौका मिलेको हो । विभिन्न पत्रिकाका सम्पादकहरूलाई ‘दर्शनभेट’ दिने क्रममा मैले पनि त्यस्तो अवसर पाएको थिएँ ।

त्यसताकाको नेपालमा राजाको दर्शन पाउनुलाई जीवनको महत्वपूर्ण घटनाका रूपमा लिइन्थ्यो । दर्शनभेटको मौका पाउँदा मलाई अत्यन्त प्रसन्नता मिलेको थियो, अहिले पनि त्यो दिन सम्झँदा खुसीले पुलकित हुन्छु म । नारायणहिटी राजदरबारमा निर्धारित समयमा म पुग्दा राजाका एडीसी टीका धमला, प्रमुख सचिव पशुपतिभक्त महर्जन र संवादसचिव मोहनबहादुर पाण्डे मलाई दर्शन दिने भनिएको कक्षको बाहिरपट्टि थिए । उनीहरूले मलाई ‘आधी घन्टाको समय बक्स भएको’ जानकारी गराउँदै कोठाको ढोका खोलिदिए ।

सो कक्षमा राजाको केहीबेर प्रतीक्षा गर्नुपर्ने ठान्दै प्रवेश गरेको थिएँ, तर म भित्र पस्दा त राजा उभिरहेका ! मन्त्री, प्रधानमन्त्रीसँग समय मिलाएर भेट गर्न जाँदा पनि बैठककक्षमा लामो समय प्रतीक्षा गरेपछि मात्र भेट हुने गरेको पृष्ठभूमिमा मैले राजासँग पनि प्रतीक्षापश्चात् मात्र भेट हुनसक्ने ठानेको थिएँ । तर, सोचविपरीत राजा नै मेरो प्रतीक्षामा उभिएको देखेर म छक्क परेँ ।

आदरपूर्वक नमस्कार गर्दै मैले राजासँगको संवाद सुरु गरेँ, ‘सरकार समय सीमित छ, तर मेरा कुरा असीमित छन्, कहाँबाट सुरु गरौँ ?’ सोफामा बस्दै राजाबाट मलाई अगाडिपट्टि राखिएको काठको कुर्सीमा बस्न इसारा भयो । मेरो प्रश्नको जवाफ फर्काउँदै राजाले भने, ‘देव, वर्तमान संविधानमा मेरो अधिकार कहाँ, कति छ त्यहीँबाट संवाद सुरु गरौँ न ।’

मैले नसोचेको सन्दर्भबाट राजाले संवाद सुरु गरे, तर म राजा र प्रजातन्त्रका बारेमा स्पष्ट थिएँ । भनेँ, ‘सरकार, अहिले संविधानमा अधिकार खोज्ने समय होइन, यतिबेला राजसंस्थालाई कसरी लोकप्रिय तुल्याउने र जनताको विश्वास कसरी आर्जन गर्ने भन्ने विषयमा केन्द्रित हुनु उपयुक्त हुन्छ ।’ मेरो भनाइ राजाका निम्ति प्रिय भएनन् सायद, उनले थप प्रश्न राखे, ‘यो देशमा जन्मने हरेक नेपालीलाई देश बनाउने अधिकार हुन्छ, के मलाई मात्र देश बनाउने अधिकार नहुने हो ?’ मैले भने, ‘होइन सरकार ‘माइन्ड’ नगरिबक्सेला, म किन यस्तो भन्दै छु भने गत जेठमा राजदरबारमा जुन हत्याकाण्ड भयो, त्यो दीपेन्द्रबाट नै भएको हो भन्ने विश्वास नेपाली जनताले गरेका छैनन् । त्यस घटनाको दोष मौसुफमाथि लागेको छ । दीपेन्द्रले वंशनाश गरेको विश्वास जनता गर्दैनन्, त्यसैले अहिले राजसंस्थालाई लोकप्रिय बनाऊँ भन्ने मेरो भनाइ हो ।’ राजालाई त्यति जानकारी गराउन पाउँदा मैले निकै आनन्दानुभूति गरेको थिएँ । त्यसपछि राजाले गम्भीर हुँदै भने, ‘त्यो मलाई थाहा छ देव ।’

यसरी सुरु भएको राजासँगको मेरो संवादका क्रममा माओवादी, नेपाली सेनाको भूमिका र उपादेयता, राजनीतिक दलहरूको क्रियाकलाप र विश्वासनीयता, दरबार र माओवादीबीचको सम्बन्धलगायतका विषयमा खुलेर छलफल भए । आधा घन्टा बितेपछि टीका धमलाले ढोका खोलेर भित्र पस्दै मलाई समय सकिएको इसारा गरे, तर राजाले धमलालाई हातको इसारा गर्दै बाहिर जान भने । त्यसपछि थप करिब आधा घन्टा मेरो संवाद भयो । आफूलाई लागेका कुराहरू खुलस्त ढङ्गले पोख्न पाएकोमा म सन्तुष्ट भएको थिएँ ।

राजासँग दर्शनभेट हुने खबर अघिल्लो दिन राजदरबार सचिवालयबाट प्राप्त भएपछि मलाई एउटै चिन्ता थियो, ‘आफूलाई लागेको सबै कुरा निर्धक्कसँग राख्ने सामथ्र्य ममा रहला या नरहला ?’ सोचँे– राजासँग मैले पद या पैसा माग्नु थिएन, मेरा निम्ति केही माग्नु नै थिएन । अनि मैले मनकामनामाईलाई सम्झँदै भाकल गरेको थिएँ, ‘माई मैले राजासमक्ष हरेक विषयमा निर्धक्क भई कुरा राख्न सकूँ, म दर्शन गर्न आउँला ।’ मनकामनामाईको शक्ति र मेरो इच्छाका कारण राजासँगको संवाद रोचक बनेको महसुस मैले गरेको थिएँ ।

राजाहरूसँग मेरा पिता–पुर्खादेखि मसम्म कुनै नाता–साइनो नरहेको, राजाहरूबाट मेरा पिता–पुर्खाले कहिल्यै कुनै निजी लाभ प्राप्त नगरेको, प्राप्त गर्ने सम्भावना पनि नरहेको र म स्वयम्ले पनि राजाबाट कुनै प्रकारको व्यक्तिगत लाभ हासिल गर्ने आकाङ्क्षा नराखेको स्थितिमा मेरो र राजाको सम्बन्ध केवल जनता र राजाको मात्र थियो । राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहका वंशज राजा भएकोले एक साधारण देशवासीका रूपमा मेरो राजाका प्रति श्रद्धाभाव भने अवश्य नै थियो । पत्रकारिता पेसामा संलग्न भएकोले सत्य–तथ्य बुझ्नु र जनताबीच सम्पे्रषण गर्नु मेरो सामान्य धर्म हो ।

०५८ जेठ १९ को घटना तात्कालिक युवराजाधिराज दीपेन्द्रबाट भएको हो भन्ने तथ्यबारे ममा कुनै भ्रम थिएन । मेरा समाचार स्रोत र थप अध्ययन–अनुसन्धानबाट हत्याकाण्ड दीपेन्द्रबाट नै भएको हो भन्ने स्पष्ट हुन आएकोले मसम्बद्ध रहेको घटना र विचार साप्ताहिकको जेठ (२०५८) २४ गतेकै अङ्कमा सविस्तार प्रकाश पारिएको थियो । तर, नेपाली समाजलाई कसरी बुझौँ ? भूमिगत जीवन बिताउँदै हिंसात्मक युद्धमा सरिक रहेका माओवादी नेताहरूले जङ्गलको कुनै कुना–कन्दराबाट दरबार हत्याकाण्ड ज्ञानेन्द्रले गराएको घोषणा गरिदिए, जनताले खुब मीठो मानेर त्यसलाई पत्याइदिए । हत्याकाण्डमा आफैँ गोली लागी घाइते भएका, आफ्नी प्रिय पत्नी श्रुति गुमाउन पुगेका गोरखशमशेर राणाका कुरामा चाहिँ कसैले विश्वास गरिदिएनन् । मलाई यस कुरामा चिन्ता तात्कालिक राजा ज्ञानेन्द्र आरोपित भएकोमा भन्दा पनि नेपाली समाजले सत्य–तथ्य बुझ्न नचाहेकोमा थियो ।

नेपाली दार्शनिक रूपचन्द्र विष्टले ०५२ मा मसँग ‘झुटो छिस्रिक्क भनिदिए पनि धुमधाम फैलिएर जाने, सत्यचाहिँ हजारपटक दोहो¥याएर भने पनि नपत्याउने नेपाली समाजको विशेषता छ, सत्यभन्दा झुटै बढी मनपराउने समाजमा मैले मान्छे जगाउन थाहा आन्दोलन सुरु गरँे, तर मान्छे या त जाग्दै जागेनन्, जे–जति जागे ती पनि जाली–फटाहालाई नै काम लागे’ भनेको कुरा राजदरबार हत्याकाण्डको सन्दर्भमा पनि मिल्न आएको महसुस मैले गरेको छु ।

मेरो जीवन देश, जनता र प्रजातन्त्रप्रतिको निष्ठाबाट कहिल्यै विचलित भएन । कोही व्यक्तिविशेषलाई खुसी या दुःखी तुल्याउने ध्येय पनि मेरो कहिल्यै रहेन र लाभहानिका आधारमा धारणा बनाउने र जनसमक्ष प्रस्तुत गर्ने काम पनि जानाजान मबाट भएन । युवराज दीपेन्द्रका बारेमा हामी नेपालीको जुन धारणा रहिआएको हो, वास्तवमा त्यो गलत थियो । उनका बारेमा सबैलाई वास्तविकता अवगत हुनुपर्छ भन्ने पवित्र अभिप्रायले मलाई इतिहासमा आधारित यो उपन्यास तयार गर्न पे्ररित गरेको हो । लेखन सुरु गर्नुअघि युवराज दीपेन्द्रलाई नजिकबाट जान्ने–बुझ्ने केही सम्मानित व्यक्तिहरूसँग पनि मैले परामर्श गरेको थिएँ । उहाँहरू सबैमा हार्दिक धन्यवादसहित आभार प्रकट गर्न चाहन्छु ।

मेरो कसैका प्रति कुनै किसिमको आग्रह या पूर्वाग्रह रहेको छैन । उपन्यासका रूपमा तयार यस कृतिलाई सजीव तुल्याउने सन्दर्भमा उपन्यासका पात्रहरूको नाम चयन गर्दा समकालीन समाजका क्रियाशील व्यक्तिहरूसँग मिल्न गएको छ भने त्यसलाई एउटा रोचक संयोगका रूपमा ग्रहण गरिदिनुहुनेछ भन्ने विनम्र अनुरोध टक्र्याउन चाहन्छु । धन्यवाद ।

हेर्नुहोस महानिशाको पहिलो भाग-

युवराजको जन्म र अनिष्टको आशंका
https://ghatanarabichar.com/103638