कृषिलाई आधुनिकीकरण र प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रधानमन्त्री

कृषिलाई आधुनिकीकरण र प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याइने बताएका छन् ।

आज राजधानीमा आयोजित आर्थिक सम्मेलन–२०१८ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक संक्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको उल्लेख गरे ।

‘लामो राजनीतिक संक्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौँ,’ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी समय खेर फाल्ने अवस्थामा छैनौँ । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहन्छौँ ।’

प्रधानमन्त्री ओलीले नेपालका अधिकांश जनता कृषिमा आश्रित भएकोले आफ्नो नेतृत्वको सरकार कृषि क्षेत्रको आधुनिकीकरण र कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक रहेको बताए । उनले भने, ‘नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुन सक्छ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे ।