कैलालीका किराना व्यापारी ओझाको हत्या

कैलालीका किराना व्यापारी ओझाको हत्या


झापामा एक व्यापारीको हत्या भएको एक साता नबित्दै कैलालीको जोशीपुर बजारमा बिहीबार राति अर्का एक व्यापारीको हत्या भएको छ ।

टीकापुर रोडमा किराना पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय रामप्रसाद ओझाका पसल भएकै घरमा बिहीबार राति हत्या भएको हो ।

मृतक ओझाको घाँटीमा डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार प्रहरीले हत्याको अनुसन्धान शुरु गरिसकेको छ ।

किराना पसलका साथै भारु सटहीको पनि काम गर्दै आएका ओझाकी पत्नी भने छोरा पढाउन टीकापुरमा डेरा लिएर बसेकी छिन् ।

ओझा राति ११ बजेसम्म जोशीपुर बजारमा भएको नाचगान हेरेर घर फर्किएको स्थानीय बताउँछन् ।