तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालय उद्घाटन

तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालय उद्घाटन


न्यूयोर्क । प्रवाशी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ-संस्थाहरूको स्थापना गरे पनि अधिकांश संघ-संस्थाको कार्यालय अहिलेसम्म पनि झोलामा मात्रै सीमित रहेको देखिन्छ ।

यस्तो विसंगति तोड्दै हालै मात्र स्थापना भएको तामाङ समाज अमेरिकाले आफ्नो केन्द्रिय कार्यालय भव्यतापूर्वक स्थापना गरेको छ ।

यही सेप्टेम्बर ८ का दिन प्रमुख अतिथि नेपाली महाबाणिज्य दुतावासका कार्यवाहक महाबाणिज्यदुत पुष्पराज भट्टराईले एक समारोहको साथ नेपाली डायस्पोराका सामुदायिक गतिविधिलाई पुनर्परिभाषिात गर्ने उद्देश्यसहित तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको भव्य रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा अमेरिकामा रहेका १२ भन्दा बढी संघ-संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो समारोहको आरम्भमा लामा गुरुहरूबाट शुभ समारोहको पुजाअर्चना गरि औपचारिक कार्यक्रमको सुरुवात गरिएको थियो । उद्घाटन समारोहको सभापतित्व तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले गरेकी थिइन् ।

समारोहमा प्रमुख अतिथि कार्यवाहक महाबाणिज्यदुत भट्टराईले नेपाली डायस्पोराका संघ संस्थाहरुले परम्परागत शैली भन्दा फरक ढंगले आफ्नो गतिविधिह संचालन गर्नुपर्ने र प्रवासमा रहेका नेपालीहरुले एकता प्रदर्शन गर्न सकेमा सम्पूर्ण नेपालीहरुको निम्ति भलाई हुने भनाई राखे । कुनै कालखण्डमा कुनै व्यक्ति वा शासकले गरेको त्रुटीलाई मुद्धा बनाएर वर्तमानमा त्यसको क्षतिपुर्ति खोज्नु भन्दा के कसरी आफ्नो समुदाय र समाजलाई अग्रगामी बनाउन सकिन्छ त्यसबारेमा डायस्पोराका आदिवासी समुदायका संघरसंस्थाहरु लागिपरेमा हाम्रो समाज द्रुत गतिमा समृद्ध बन्न सक्ने धारणा भट्टराईले अघि सारे ।

तामाङ समाज अमेरिका भर्खरै स्थापना भएको भए पनि यो संस्थाले नेपाली डायस्पोराका संघ-संस्थासँग हातेमालो गर्दै सामुदायिक गतिविधिलाई पुनर्परिभाषित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले प्रतिवद्धता जनाइन्।

नयाँ शैली र नयाँ आयामबाट तामाङ समाज अमेरिकाले नेपाली डायस्पोरामा आफ्नो नेतृत्व स्थापित गर्ने र स्थानीय मुलधारको राजनीतिमा समावेश गर्न हाम्रो दोश्रो पुस्तालाई सक्रिय गराउने भूमिकामा तामाङ समाज अमेरिका रहने उहाँले स्पष्ट पार्नु भयो ।

उद्घाटन समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव बाबुराम लामा, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापति विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका सचिव भोजराज थोकर, संगठन विभाग प्रमुख वेद खरेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष छेपक गुरुङ, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, तमु परिवार न्युयोर्कका अध्यक्ष डम्मरजंग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, निवर्तमान वरिष्ठ उपाध्यक्ष मणि वाङडेल राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष भरत लामा, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङछिरिंग शेर्पा, प्रेम एण्ड पुनम फाउन्डेशनका अध्यक्ष प्रेम थोकर, गैरआवासीय नेपाली संघ अमेरिकाका सहकोषाध्यक्ष पवन योन्जन लगायतले शुभकामान मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली महाबाणिज्यदुतावास न्युयोर्कका कन्सुलर कृशु क्षेत्री, तामाङ सोसाइटी अफ अमेरिकाका निवर्तमान अध्यक्ष शान्त थोकर, गैरआवासीय नेपाली संघ अमेरिकाका बोर्ड अफ डिरेक्टर आङनिमा गेल्जे शेर्पा, पर्यटन प्रवर्द्दन समितिका संयोजक जाङबु शेर्पा गोले, न्युयोर्क समाचार अनलाईन् न्युजका गोकुल श्रेष्ठ, खसोखास साप्ताहिकका सम्पादक अनिल अधिकारी, गैर आवासीय नेपाली संघ, अमेरिका न्युयोर्क शाखाका अध्यक्ष रामहरि अधिकारी र नेपाल विद्धार्थी संघका अध्यक्ष प्रभात सापकोटाको उपस्थिति रहेको थियो । तामाङ समाज अमेरिकाका सचिव विनिता तामाङले कार्यक्रम संचालन गरेकी थिइन् ।