सपनामा आमा

सपनामा आमा


– डिल्लीराम अम्माई

आफूलाई आफैसँग विरक्त्याएर
स्वार्थीहरुको मनोदशा चित्र
मनैमन कोर्दै थिएँ,
हिजोका बासी प्यासहरु
मनोदैनिकीका पेजहरुमा
पीडाको कलमले कोर्दै थिएँ ।
तितो सपनाका बीच आमा आइन्
विपनाको जस्तै उज्यालोमा
हातले सुम्सुम्याइन् ।

000

स्वप्नचेतको प्रकाशले
लम्पसार म निहुरिन खोजेँ
शिर पीडाले भारी भयो
कराएँ ‘आमा,आमा”

000

‘आमा ममा त्यो उत्कण्ठा खोइ ?
हावाजस्तै हल्का तन किन भारी छ ?’
आमा रुँदै बोलिरहिन्-
‘तेरो मनसँगै सपना छैन बाबु
विचरणमा हराएको मन र सपना फर्कन दे
परीवेसले तलाईँ लतारीसकेको छ
मनको इन्क्लाव अर्धमृत छ
अर्धमृत इन्क्लाबलाई बचाएर राख छोरा
इन्क्लाब खोसिन न दे
मनले मात्र हैन चेतनाले ब्युँझी
परचक्रीको दासतालाई तोड !’

000

आमा बोल्दै गइन्-
‘भावनाभन्दा माथि उठ्,
सपनाको ताज्महल आँफै सजा,
अब सुतेर सपना मात्र नदेख बाबु !
कर्मको स्वाद चाखेर हेर ।’

000

सपनाको गोरेठो चिर्दै आमा आइन्
मैलो पक्षौरिको सप्कोले
अत्यासले झरेका मेरा पीडा पुछिन्
गर्धनको बोझ नउठाउँदै
विपनाको उज्यालोमा बिलाइन् !